तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधारको लगानी जनताको आर्थिक विकासमा केन्द्रीत हुनुपर्छः मन्त्री साह

जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साहले शहरको विकास गर्दा जनताको आर्थिक विकास तथा समृद्धिलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्री साहले संघीय सरकार अन्तरगतका आयोजनाको कार्यान्वयनमा देखिएका समस्याहरुको समाधान विषयक अन्तरक्रियामा कुनै पनि पूर्वाधारमा लगानी गर्दा जनताको आर्थिक उपार्जनमा मद्दत गर्न सकिने विषयलाई आधार बनाएर योजना निर्माण गर्न प्रदेश तथा स्थानीय सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले संविधानले परिकल्पना गरेअनुसारको संरचनाहरुको पूर्वाधारको निर्माणका लागि संघीय सरकार दृढ भएको बताउँदै पहिलो प्राथमिकतामा प्रदेश राजधानीको विकासमा तीव्रता दिन जरुरी रहेकोले प्रदेश राजधानी जनकपुरधामको विकासका लागि संघीय सरकार लगानी गर्न तयार भएको बताउनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जनकपुरधामलाई धार्मिक शहरको रुपमा विकास गर्नका लागि लगानी गर्न शहरी विकास मन्त्रालय तयार रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमतिको संरक्षण एवं विकासका लागि लगानी गर्न सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव रामआधार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, महोत्तरीको सिस्वा मनरा नगरपालिकाका प्रमुख सञ्जय सिंह, मलंगवा नगरपालिकाका प्रमुख निर्सल साहसहितका वक्ताहरुले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button