सप्तरीका सम्पूर्ण आइसोलेसन खाली
सप्तरी । सप्तरीमा कोरोना भाइरस सङ्क्रमितहरू निको भएर घर फर्किएपछि सम्पूर्ण संस्थागत आइसोलेसनहरू खाली भएको छ ।
नयाँ सङ्क्रमित थपिने सङ्ख्या एकदमै न्यून रहेको कारण यहाँका संस्थागत आइसोलेसनहरू खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।
कोरोना महामारीको सुरुमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा विभिन्न स्थानमा आठ वटा संस्थागत आइसोलेसन सञ्चालनमा ल्याएको थियो ।
आठ वटै संस्थागत आइसोलेसन अहिले खाली रहेको स्वास्थ्य कार्यालयको तथ्याकंमा उल्लेख छ ।
जिल्लामा शनिबार बेलुकासम्म कूल १३ जना सङ्क्रमितहरू मात्र छन् । उनीहरू सबै आ–आफ्नो घरमै आइसोलेसन गरी बसेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो ।
जिल्लाको राजविराजस्थित साई कृष्ण मेडिकल भवन, खडक नगरपालिका, कञ्चनरुप नगरपालिका, बोदेबर्साइन नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, भिमदल गण, राजविराज कारागारलगायतको संस्थागत आइसोलेसनहरु सञ्चालनमा रहेको थियो । ती सबै आइसोलेसनमा अहिले बिरामीको सङ्ख्या शून्य रहेको छ ।
जिल्लामा हालसम्म कूल सङ्क्रमित १ हजार ८२९ मध्ये १ हजार ७७५ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितमध्ये ४१ जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा नयाँ थपिने सङ्क्रमित बिरामीको सङ्ख्या पनि कम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्