कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

स्याङ्जा । आँधीखोला गाउँपालिकाले पालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ ।
पालिकाले कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड दिँदै ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो ।
किसानलाई कृषि पेसाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई बदल्दै यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
कृषिलाई प्राथमिकतामा राखेर पालिकाले कार्य गर्दै आइरहेको भन्दै कृषिप्रति कृषकहरूलाई प्रोत्साहित गरी अगाडि बढाउन हाते ट्याक्टर वितरण गरिएको पालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो । ‘गोरुले जोत्दा समय धेरै लाग्ने र मेहनत धेरै गनुपर्छ’ उहाँले भन्नुभयो, ‘कृषिलाई सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौँ ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले युवाहरूलाई कृषिमा आकर्षित गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गरी आफ्नै गाउँ ठाउँको विकास गर्नुपर्ने बताउनुभयो । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उहाँको भनाई छ ।
पुर्खौली अवस्थादेखि नै दिनभरि लगाएर खेतबारी जोत्नु परेको धेरै मेहनत गर्नुपरेको र समयमै गोरु नपाउँदाको पिडा सुनाउँदै कृषक तोयानाथ पौडेलले भन्नुभयो, ‘अब त १ घण्टामै आफ्नो खेत बारी जोत्न सकिने भयो । गोरु खोज्दै हिँड्नुपर्ने अवस्था रहेन । मेहनत पनि कम पर्ने भयो ।’
युवाहरू विदेशतर्फ पलायन भएसँगै गोरु पाल्ने तथा खेतीपाती गर्ने अवस्थाको कमी आएको तथा भौगोलिक रूपमा विकट क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठुलो सघाउ पुग्ने कृषकहरूले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गर्नुभयो । प्रति ट्याक्टर कुल ५५ हजार मध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन् ।
किसानहरूको अत्यधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिकाले जनाएको छ ।
कृषि प्राविधिक अर्जुन चापागाँइले हाते ट्याक्टर सञ्चालनको तौरतरिकाका बारेमा कृषकलाई जानकारी गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्