तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ९ जना सडक मानवको उद्धार

तनहुँ । सडकमा जीवन बिताउने तनहुँको नौ जना बेवारिसे व्यक्तिहरूलाई मानव सेवा आश्रम कास्कीले उद्धार गरेको छ ।

लामो समयदेखि सडकमा मागेर जीवन गुजार गर्दै आएको शुक्लागण्डकी नगरपालिकाका तीन महिला , एक पुरुष र व्यास नगरपालिकाको दमौलीबाट पाँच जना पुरुषलाई उद्धार गरिएको हो ।

सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत मानव सेवा आश्रमले उनीहरूलाई शुक्रवार र शनिबार दुई दिनमा उद्धार गरेको आश्रमका कास्की संयोजक राजन सापकोटाले जानकारी दिनुभयो । उहाँले आश्रमको अगुवाइमा मेची—महाकाली मानवमुक्त सडक बनाउने अभियान चलिरहेको बताउनुभयो ।

उद्धार गरिएका शुक्लागण्डकीका दुई महिला र एक पुरुष मिलडाडास्थित सडक छेउमा छाप्रो निर्माण गरेर बसेका थिए । उनीहरूले बजार क्षेत्रमा मागेर जीवन गुजारा गर्ने गर्दै आएका थिए ।

यस्तै हिमा भनिने एक महिला समेत बजार क्षेत्रमा दिनमा मागेर खाने र रातको समयमा घरको बाहिर बरण्डामा सुतेर रात बिताउने गरेकी थिइन् ।

त्यसै गरी ब्यास नगरपालिकाका तीन पुरुषसहित एक बालक र एक बृद्धा भने दमौलीको एक प्रतीक्षालयमा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उनीहरूलाई पोखरास्थित छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रय दिने गरी पठाइएको जिप्रका तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो ।

अभियानका कास्की जिल्ला संयोजक सापकोटाले डिसु नेपाल र स्थानीय तहको समन्वयमा मानवमुक्त सडक अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अभियान पौष ७ देखि जारी रहेको छ भने आगामी माघ ७ गते सकिने छ ।

विसं२०६९ सालमा हेटौँडाबाट सुरु गरेको यो सामाजिक संस्थाले अहिले देशका १५ वटा जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन बर्ष अघिदेखि काम गर्दै संस्थाले गण्डकी प्रदेशभित्र गोरखा, लमजुङ, बागलुङ र कास्कीमा कार्यालय स्थापना गरेर बेवारिसे मानिसहरूको उद्धार गर्दै आएको छ ।

आश्रमले दिएको जानकारी अनुसार कास्कीको छोरेपाटनमा रहेको आश्रममामा हाल एक सय २० बेवारिसे मानवहरू रहेका छन् ।

यस्तै बागलुङमा रहेको आश्रममा ४५, गोरखाका ४५ र लमजुङका २० बेवारिसे व्यक्तिहरू रहेको सडक मानवमुक्त अभियानका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखामा भने पढ्ने किसिमका बालबालिकाहरूको मात्रै उद्धार गरेर राखिएको छ ।

यसरी उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य उपचार, खाना र बस्नको लागि पब्लिक डोनेसन र नेपाल सरकारको केही आर्थिक सहयोग हुने गरेको प्रदेश संयोजक तिमिल्सेनाले बताउनुभयो ।

करिब ८० प्रतिशत सहयोग विभिन्न सङ्घसंस्था, क्लब र व्यक्तिले गर्ने गरेका छन् । संयोजक तिमिल्सेनाल भन्नुभयो ‘गत वर्षदेखि नेपाल सरकारले पनि सहयोग गर्न थालेपछि काम गर्न सहज भएको छ ।’

गत बर्ष चार सय व्यक्तिहरूको उद्धार गरी करिब दुई सय जनालाई परिवारमा पुर्नमिलन गराइएको कास्कीस्थित आश्रमका अभिभावक समिति संयोजक कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले यसरी उद्धार गरी ल्याइएका व्यक्ति मध्ये ३५ जनाको मृत्यु भइसकेको बताउनुभएको छ ।

उद्धार पश्चात् उनीहरूलाई खाना र बस्नमा समेत सहज हुने र सडक दुर्घटनाको जोखिम कम हुने इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button