सप्तरीको धर्मेश्वर महादेव धारापानी पर्यटक आकर्षणको केन्द्र बन्दै
सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका –१२ धरमपुरस्थित धर्मेश्वर महादेव धारापानी आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।
पूर्व पश्चिम लोकमार्गको सिमरा चौकबाट १ किलोमिटर उत्तर चुरे जंगलको फेदीमा रहेको धर्मेश्वर महादेव धारापानी पर्यटकीय क्षेत्रमा चारैतिर हरियाली वन, कहिल्यै नसुक्ने धारा, धर्मेश्वर महादेवको मन्दिर, तिरतिरे धारा, परेवा भिर, सहलेश पिडिया, कुन्तामाई थान, दोभान, पिक्निक स्पोर्ट, पार्क र सामुदायिक भवन रहेका छन् ।
पुरातत्व विभागले निमार्ण गरिदिएको धर्मेश्वर महादेवको मन्दिरले गर्दा पनि त्यस ठाउँको आकर्षण बढेर गएको हो । यस पर्यटन क्षेत्रमा बैशाखदेखि दैनिक रुपमा पाँच देखि दश ग्रुप वनभोज गर्न जाने गर्दछन् । अंग्रेजी पात्रोको नयाँ वर्षका दिन जनवरी १ मा २ सय ३५ ग्रुप वनभोज खान आएको पर्यटन क्षेत्रका अध्यक्ष लिलबहादुर मगरले बताउनु भयो ।
यस पर्यटकीय क्षेत्र सरसफाइ तथा मर्मत सम्भारका लागि सवारी साधन हेरी रु १० देखि १ सय ५० सम्म प्रवेश शुल्क लाग्ने गर्दछ ।
त्यहाँको आकर्षणलाई अझ राम्रो बनाउन ताल बनाउने र स्टलहरु निर्माण गरी पर्यटकीय क्षेत्रलाई नमूना बनाउने अभियान नगरपालिकाको रहेको नगर प्रमुख बसन्त कुमार मिश्र बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्