मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सम्पदा पदयात्रा

भक्तपुर । मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ अन्तर्गत सम्पदा पदयात्रा संचालन गरेको छ ।
अंग्रेजी नयाँवर्ष २०२१ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सम्पदा पदयात्रा संचालन गरेको हो ।
नगरपालिकाले ओस्ला नेपालको संयोजनमा शंखधर चोकबाट सुरु भएको पदयात्राको वाग्मती प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा मध्यपुरथिमि भित्रका बिभिन्न सम्पदाहरुको तस्विर सहितको जानकारी गन्तव्य मध्यपुर थिमि पर्यटकीय हाते पुस्तिका विमोचन गरिएको थियो ।
थिमिलाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन यहाँका बिभिन्न मूर्त तथा अमूर्त सम्पदाहरुको अवलोकनका साथै बाजागाजाका साथ बिभिन्न डबलीहरुमा साँस्कृतिक नाच, झाँकीसहित दाफा भजन प्रर्दशन गरिएको थियो ।
सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनर्निर्माण भएका ऐतिहासिक सम्पदा, पोखरी, पाटी, मन्दिर, पार्क तथा ढुंगेधाराको अवलोकन गरिएको थियो ।
पदयात्रामा वाग्मती प्रदेश सदस्यहरु डा.राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा, सरस्वती वाटी, पुरातत्व एवंसंस्कृतिविद्, स्थानीय जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिभिन्न साँस्कृतिक झाँकीहरुका साथै महाकाली, मञ्जुश्री, अष्टमात्रिका नाच लगायतका साँस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो ।
उल्लेख्य सहभागी रहेको पदयात्रामा शंखधर चोकबाट नगरका बिभिन्न भागको परिक्रमा गरी कमल पोखरी, कालिका मन्दिर, कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा सम्पन्न भएको थियो ।
समापन समारोहमा बोल्दै सभामुख श्रेष्ठले नेपाल तपोभूमि रहेको यहाँबाट विश्वभर कला, संस्कृति फैलिएको र यसमा रहेको जीवित विज्ञानलाई उजागर गर्दै विश्वभर नेपाललाई अध्ययन गर्ने थलोको रुपमा विकास गर्नुपर्छ भन्नुभयो ।
सभामुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई नेपालमा मात्रै नभई हालै मध्यपुरथिमि नगरपालिकाले हालै नेपालमै पहिलो पटक ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत विश्व मानचित्रमा चिनाउन सफल भएको बताउनुभयो ।
उहाँले भ्रकम्पले भत्काएको मात्रै नभई यहाँको मूर्त, अमूर्त कलाहरुको संरक्षण गर्दै यसलाई विश्वभर चिनाउन सफल मध्यपुरथिबिाट अरु नगरपालिकाले पनि सिक्नु पर्नेमा जोड दिनुभयो ।
मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचिन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, जिवन्त कला देखाउदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरेको बताउनुभयो ।
प्रमुख श्रेष्ठले अब आन्तरिक तथा बाह्य पर्यटकले कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर मुर्त अमुर्त सम्पदा अवलोकनको आनन्द लिन सक्छन् भन्ने पदयात्राले सन्देश प्रवाह गरेको बताउनुभयो ।
त्यसअवसरमा पुरातत्वविद् प्रकाश दर्नाल, शंखधर साख्वाः प्रतिष्ठानका ज्ञानराम श्रेष्ठ लगायतले मध्यपुरथिमि नगरक्षेत्रमा कतिपय अन्यत्र नभएका गुमुज, शिखर छानो शैलीका सम्पदाहरु रहेको चर्चा गर्नुभयो ।
ओस्ला नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक राजेश श्रेष्ठले मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले पदयात्राको आयोजना गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्