मानवसेवा मानवीयताको असल र पवित्र कार्य : समन्वय समिति प्रमुख खुलाल

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मानव सेवाको कार्य मानवीयताको असल र पवित्र कार्य भएको बताउनुभएको छ । सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) का यात्रीहरुलाई शुक्रवार हेटौँडामा स्वागत गर्नुहुँदै प्रमुख खुलालले मानवीयताको असल र पवित्र कार्य गर्नु निकै कठिन रहेको भन्दै यसका लागि मनमनमा मानवता प्रवर्द्धन गर्न जरुरी रहेको बताउनुभयो ।
प्रमुख खुलालले करिब ८ वर्ष अगाडी हेटौँडाबाट सुरु भएको अभियानले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूप लिएको भन्दै यस्तो पवित्र कार्यमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । नेपाललाई २०७८ सम्म सहयोगापेक्षि सडक मानव मुक्त बनाउने अभियानलाई मेची महाकाली उद्धार कार्यक्रमले थप टेवा पुग्ने भन्दै उहाँले मानव सेवामा खट्नुभएका सबै यात्रुहरूलाई बधाई दिनुभयो ।
उहाँले देशमा कोही पनि विक्षिप्त भएर सडकमा नाना र छानाबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ जारी मानवता प्रवर्द्धन र मानवीय कार्यमा सबैलाई सरिक हुन समेत आग्रह गर्नुभयो ।

मानव सेवा आश्रमले गत पुस ७ गतेबाट सुरु गरेको सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार कार्यक्रमका अभियन्ताहरूलाई शुक्रवार हेटौँडामा स्वागत गरिएको हो । टोलीलाई जिल्ला समन्वय समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयलगायत पतञ्जलि योग समिति मकवानपुर, पुष्पाञ्जली आमा समूह, सियान पुनर्स्थापना केन्द्र, नारायणी सहकारी, साईराम सहकारीलगायत संस्थाले अभियन्ताहरूलाई स्वागत गरेको हो । कार्यक्रममा मानव सेवा आश्रमको केन्द्रीय कार्यालय समेत रहेको हेटौँडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले विक्षिप्त भएर सडकमा पुगेका मानवलाई उद्धार गर्ने पवित्र कार्यमा खटिनुभएका सम्पूर्ण अभियन्तालाई धन्यवादका साथै यात्रा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गत पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गर्नुभएर झापाबाट सुरु सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्धार कार्यक्रम (मेची महाकाली यात्रा २०७७) का यात्रीहरू शुक्रवार हेटौँडा आईपुगेका हुन् । मेची–महाकाली यात्रामा मानवसेवा आश्रमका ३५ जना उद्धार टोली खटिनुभएको छ । राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत शुक्रवार सम्म करिब ३ सय ५० जना बेसहारा सडक मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । उद्धार गरिएको व्यक्तिलाई मानव सेवा आश्रममा राखिएको छ । यात्रा आगामी माघ ७ गते समापन हुने छ ।








प्रतिक्रिया राख्नुहोस्