नक्कली कागजात बनाउने ‘गिरोह’ पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले सरकारी कागजात, छाप र दस्तखत किर्ते गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ९ मा रहेको सिटी प्यालेस गेस्ट हाउस एण्ड फेमली रेस्टुरेन्टबाट भारतको विहार राज्यको अररिया फार्बिसगंज घर भई हाल विराटनगर महानगरपालिका वडा नंं. १ बस्ने वर्ष २७ का समीर साहलाई पक्राउ गरेको हो भने अन्य तीनजनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको बताएको छ ।
प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको कमान्डमा गएका प्रहरीको टोलीले साहलाई पक्राउ गरेको हो ।
आपराधिक समूहका मानिसहरू सरकारी कागज,छाप र दस्तखत किर्ते गरी नक्कली कागजातहरू तयार गरिरहेको गोप्य सूचनाको आधारमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेका साथबाट नक्कली छाप, कागजातसहितका थुप्रै दस्ताबेजहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले आज एक पत्रकार सम्मेलन मार्फत जफत गरिएका सामाग्री सार्वजनिक गरेको छ ।
गेस्ट हाउसको कोठा नंं. १ सय ६ मा बसिरहेका साहको सुटकेसमा लुकाई राखेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट जारी भएको भनिएको नक्कली प्रमाणपत्र, परिचयपत्र, सोही कार्यालयको छाप लगायतका विभिन्न कार्यालयहरूको सही छाप बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनु भयो ।
प्रहरीले महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नंं. ९ का वर्ष २१ का आदित्य कुमार यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ४ बस्ने वर्ष ३० का चन्दन साह यसै जनकपुरधाम वडा नंं. २ का वर्ष ५० का रामचन्द्र साहलाईसमेत पक्राउ गरेको छ ।
पक्राउ परेका साहले आर्थिक लाभका लागि आफूसमेत केही व्यक्तिहरूले मिलेर कामकाज गर्ने गरेको बयानदिएसँगै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न बैङ्क तथा कार्यालयको स्ट्याम्प ४० थान, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका नक्कली प्रमाणपत्र, नगद जम्मा भौचर खाली १ थान, विभिन्न बैङ्कहरूमा जम्मा गरेको भौचर ४ थान, नेपाल रेल्वे कम्पनीको आवेदन ३ थान, विभिन्न बैङ्कको चेक तथा प्लास्टिकको नक्कली पेस्तोल ३ थान बरामद गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्