जनतामा निराशा फैलाउने काम नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका लागि घातक हुने हुनाले जनतामा आशा जगाउने काम गर्न सबैलाई आग्रह गनुैभयो ।
प्रधानमन्त्री ओलीले सरकार प्रमुख तथा पार्टी अध्यक्षका रूपमा आफुले नेपाली जनतामा आशा जगाउने काम गरिरहेको भएपनि आफ्नै पार्टीका नेताहरूबाट सहयोग पाउन नसकेको बताउनुभयो ।
आफ्नो पार्टी भित्रका केही नेताहरू, प्रतिनिधी सभा तथा प्रतिनिधी सभाका सभामुख बाट समेत सरकारले उचित सहयोग र समर्थन पाउने अवस्था नरहेको र देशमा अस्थिरता आउने खतरा बढेर गएका कारण स्थिरताका लागि प्रतिनिधी सभा विघटन गरी निर्वाचनमा जाने निर्णय लिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तथा देशमा भइरहेका विबाद र समस्याहरू एउटा सामान्य झट्कामात्र भएको र छिट्टै देशले नयाँ गति लिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनपछि सत्तारूढ नेकपा विभाजन भएको नभई केही मानिसहरू अलग भएको तथा उहाँहरू प्रतिगमनको यात्रामा लागेको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्