तपाईँ सुन्दै हुनुहुन्छः

दोदा नदीमाथि निर्मित झोलुङ्गे पुलको उद्घाटन

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी र पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया जोड्ने दोदा नदी माथि निर्मित झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत झोलुङ्गे पुल निर्माण गरिएको हो ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापा र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको समुपस्थितिमा प्रदेशसभा सदस्य तारा लामा तामाङले शुक्रवार झोलुङ्गे पुलको उद्घाटन गर्नुभयो ।

करिब १ करोड ९९ लाख लागत खर्चमा दुई सय मिटरभन्दा बढी लम्बाइको झोलुङ्गे पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी खेमराज भट्टले बताउनुभयो । पुल निर्माणसँगै सामाजिक, आर्थिक एव सांस्कृतिक गतिविधिमा सहजता भएको स्थानीयको भनाइ छ ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले दोदा नदीमाथि तीन वटा पुल निर्माणका लागि सङ्घीय सरकार समक्ष माग गरेको बताउनुभयो । लालझाडीसँग जोडिएका पुनर्वास र बेलौरीका केही स्थानमा दोदा नदीमाथि स्थानीयले बाँसका अस्थायी पुल बनाएका छन् । जहाँबाट ओहोरदोहोर गरेको समेत केही शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button