पहिलो उज्यालो पालिका घोषणाको तयारीमा पातारासी गाउँपालिका

जुम्ला । जुम्लाका आठ स्थानीय तह मध्ये पातारासी गाउँपालिका विद्युत्मा आत्मनिर्भर पालिका भएको छ ।
स्थानीय सरकार आए पश्चात् पातारासीका गाउँ गाउँमा १५ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । १५ देखि १ सय किलो वाटसम्मका १५ आयोजना निर्माण भई सञ्चालन भएपछि पातारासीका दुर्गम बस्ती झिलिमिली भएका छन् भने , जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा पातारासी गाउँपालिका जुटेको छ ।
पातारासीमा ५८ किलोवाटको विउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम विद्युत् आयोजना, २५ किलोवाटको तल्फी जलविद्युत आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत आयोजना, २५ किलोवाटको माथि लोर्पा विद्युत् आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजना निर्माण भएका छन् ।
त्यस्तै, तलि लोर्पामा ५ किलोवाट, लाम्रीमा ९ किलोवाट, महरीमा ६ किलोवाटको विद्युत् आयोजना गरी पातारासी गाउँपालिकामा १५ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालन भएका हुन् ।
१५ वटा विद्युत् आयोजना मध्ये ११ वटा आयोजनाबाट साढे दुई सय किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।
घरघरमा बत्ती पुगेसँगै टुक्कीकै भरमा दिन गुजारा गरिरहेका पातारासीका १७ हजारभन्दा बढी नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
स्थानीय ताराबहादुर बोहोराले भन्नुभयो,“विद्युत्को पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हट्यो । बालबालिकाहरूले सहज रुपमा पढ्न पनि पाएका छन् । बन्द रहेका फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन हुने अवस्थामा पुगेका छन् ।”
विद्युत् क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको पातारासी गाउँपालिकाले साढे तीन वर्षमै घरघरमा विद्युतीय पहुँच विस्तार गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।
अध्यक्ष बोहोरा भन्नुभयो,“गर्व गर्ने खालको विकास भनेकै हामीले विद्युत्को क्षेत्रमा गरेका छौँ । साढे तीन वर्षमा पालिका भरीका करिब २७ बस्तीका ३४ सय घरधुरीलाई विद्युत्को पहुँचमा पुर्याउन सफल भयौँ ।”
उहाँले सडक, खानेपानी, कृषि, जडीबुटीका क्षेत्रमा काम नभएको भन्ने होइन । तर देखिने खालको विकासको महसुस हुने गरी विद्युत् क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
पातारासी गाउँपालिकाको १ देखि ७ नम्बर वडाका बस्ती बस्तीमा ५ देखि १ सय किलोवाट सम्मका विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् ।
पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा भन्नुभयो,“पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै व्यवहोर्ने गरी पालिकाभरिका ३४ सय घरधुरीलाई नै निःशुल्क बत्ती दिने व्यवस्था गरेका छौँ ।”
पातारासीमा पानीको स्रोत पर्याप्त भएकोले स्थानीय सरकारको लगानी र प्राथमिकताका पनि जलविद्युतमै पर्यो । जसका कारण अन्य क्षेत्रको विकासभन्दा विद्युत् क्षेत्रको विकास प्रभावकारी भयो भने, अन्य विकासभन्दा नागरिकले विद्युत्बाट सङ्घीयताको महसुस गरेको प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाको भनाई छ ।
साथै १ मेगावाट चुकेनी जलविद्युत आयोजना निर्माणका लागि पातारासी गाउँपालिकाले २ करोड शेयर लगानी गरेको छ ।
चालु आवमै जिल्लामै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा जुटेको अध्यक्ष बोहोराको भनाई छ ।
विद्युत् अवरुद्ध भएका १÷२ बस्तीमा लाइन विस्तार तथा टान्समिटर जडानको कार्यलाई अघि बढाइएको छ । निकट भविष्यमै पातारासी गाउँपालिका उज्यालो पालिका घोषणा हुँदैछ ।








प्रतिक्रिया राख्नुहोस्