पुनः श्रम स्वीकृति अब अनलाइनबाटै लिन सकिने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अब अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन पाउने भएका छन् ।
श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकले आजदेखि अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पुनः श्रम स्वीकृति लिनका लागि समय पुगेका र लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकले जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारमा कार्यरत नेपाली नागरिकको जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनका माध्यमबाट आवेदन दिएर श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको छ ।
स्वदेश तथा विदेशमा रहेका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिनका लागि हाल विदेशमा काम गरिरहेको कम्पनीको श्रम नवीकरण गरिएको कागज, पासपोर्ट, भिसा, कम्पनीले दिएको करार पत्रलगायतका कागजातहरू समेत आलानमार्फत नै पेस गरेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसअघि यी सबै कागजात लिएर विभागको कार्यालयमा नै गएर पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था रहेको थियो ।
वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठा छापको स्क्यान लिइसकेका श्रमिकले मात्रै अनलाइनमार्फत आफ्नो श्रम नवीकरण गर्न पाउने छन् भने श्रमिकले आफ्नो पुनः श्रम स्वीकृति इमेलमै प्राप्त गर्न सक्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले करिब डेढ वर्ष अगाडि नै वैदेशिक रोजगार नियमावली–२०७६ संशोधन गरी अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति गर्ने व्यवस्था मिलाएको थियो । तर बिमा कम्पनीले अनलाइन मार्फत रकम भुक्तानी गर्ने विषयमा सहजीकरण नगरिदिँदा यसमा ढिलाइ भएको थियो ।
अब भने यो नियम कार्यान्वयनमा आएकोले श्रम नवीकरण गर्नका लागि मात्रै विदेशबाट नेपाल नै आउनुपर्ने बाध्यता हटेको छ भने वैदेशिक रोजगारीका क्रममा रहेका लाखौँ श्रमिक यसबाट लाभान्वित हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक दाहालले आँखाको स्क्यान तथा औँठा छापको स्क्यान अरू कसैसँग पनि नमिल्ने भएकाले यसकै आधारमा चिनेर अनलाइनका माध्यमबाट पुनः श्रम स्वीकृति दिइने जानकारी दिनुभयो । यसका लागि विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस)मार्फत फारम भर्न सकिने पनि विभागले जनाएको छ ।
वैदेशिक रोजगार विभागले दुई वर्षका लागि मात्रै श्रम स्वीकृति दिने गरेको छ । पुनः सोही कम्पनीमा निरन्तर काम गर्न चाहेमा श्रमिकले विभागबाट पुनः श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था छ । गत आर्थिक वर्षमा मात्रै करिब दुई लाख ७२ हजार जनाले विभागबाट पुनः श्रम स्वीकृति लिएका थिए ।
अब भने अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था लागु भएसँगै विदेशमा रहेका नेपाली कामदारलाई श्रम स्वीकृति लिनकै लागि नेपाल आउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ भने बिदामा नेपाल आएका कामदारलाई पनि विभागको कार्यालयसम्म धाउनुपर्ने छैन ।








प्रतिक्रिया राख्नुहोस्