तपाईँ सुन्दै हुनुहुन्छः

निर्यात प्रबद्र्धन, पारवहन र व्यापार सहजीकरणका लागि अन्तरक्रिया

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज बीरगंजमा ‘निर्यात प्रबद्र्धन, पारवहन र व्यापार सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कोभिड–१९ का कारण नवीकरण हुन नसकेका वाणिज्य कार्यालयमा दर्ता भएका फर्महरुको हकमा चैत्र मसान्तसम्म र पुरानो फर्महरुको हकमा २०७८ आषाढ १० गतेसम्म समयावधि बढाइने गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।

उहाँले व्यापार पारवाहनमा उत्पन्न समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले वैध व्यापारको प्रोत्साहन र अवैध व्यापार निरुत्साहित हुनुपर्ने बताउँदै राज्य र नीजि क्षेत्रबीच दरिलो सहकार्य र सहयात्राले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष केडियाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय अन्तर्गत दर्ता भएको कतिपय फर्महरु कोरोनाको कारण नवीकरण गराउन छुट हुन गएका फर्महरुको नवीकरणको सहज व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

बीरगंज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले कार्यपत्र प्रस्तुत गर्दै भारतको बिहार लक्ष्मीपुर रक्सौलदेखि एकीकृत भन्सार जाँच चौकी सम्मको रोड स्तरोन्नति गरी ४ लेनको बनाउनुपर्ने माग गर्नुभयो ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव श्रीधर गौतमले हालको सन्दर्भमा वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयवस्तुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वीरगञ्ज भंसार कार्यालयका मुख्य भंसार प्रशासक महेश आचार्यले हालका दिनमा वीरगञ्ज भंसार कार्यालयले प्रदान गर्दै सेवा सुविधा, निर्यात प्रबद्र्धनमा खेल्दै आएको भूमिका र नीजि क्षेत्रसँगको समन्वयमा पुर्याउँदै आएको व्यापार सहजीकरणको सम्बन्धमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, अशोककुमार टेमानी, अशोककुमार वैध, प्रदीपकुमार केडिया, हरि गौतम, मनोज दास, आशीष लाठ, सुमन क्याल, शिवजी साह लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button