तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद सकिँदै

file photo
रुपन्देही । पाँच पटक म्याद थप गरिसकेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद आज बिहीबार सकिँदै छ । विमानस्थल निर्माण कम्पनीले म्याद सकिए पनि निरन्तर कामलाई जारी राख्ने जनाएको छ ।
निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै विमानस्थल आयोजनाले छैटौँ पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाइसकेको छ ।
गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले निर्माण कम्पनीको म्याद थपको निवेदन आएपछि अहिलेसम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधिलाई आङ्कलन गरेर म्याद अवधि थप गर्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय गर्ने जनाएको छ ।
२०१५ जनवरीमा शिलान्यास भएको विमानस्थल १८ जुन २०१८ मा सम्पन्न हुन नसकेपछि म्याद थपिँदै काम अघि बढेको थियो ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको लागि समयावधि पाए पनि निर्माण सम्पन्न नहुने देखिएपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको हो । चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसन कन्स्ट्रक्सन ग्रुपले ५ औँ पटक थपिएको म्याद अवधिमा समेत काम सम्पन्न गर्न नसकेपछि छैटौँ पटक म्याद थप्ने तयारी भइरहेको छ । दुई सञ्चार उपकरणको जिम्मा पाएको एरोथाई कम्पनीले पनि काम सम्पन्न गर्ने गरी म्याद थपका लागि निवेदन दिएको छ ।
आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले म्याद थप कहिलेसम्म हुन्छ भन्ने कागजी प्रक्रियामा रहे पनि केही टुङ्गो नलागेको बताउनुभयो । “विमानस्थलको काम रोकिन्न, काम निरन्तर भइरहेको छ, निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि म्याद थप गर्नु नियमित प्रक्रिया हो” उहाँले भन्नुभयो ।  विमानस्थलको निर्माण कार्य पछिल्लो ३ वर्षमा २५ प्रतिशतबाट ९३ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल भएको र अहिले ९५ प्रतिशत उपकरणहरू अधिकांश फिल्डमा आइसकेको विमानस्थल आयोजनाले जानकारी दिएको छ ।
पहिलो चरणको अर्थात् आइसीबी–१ को काम मध्येको भौतिक निर्माणको सबै काम सम्पन्न भइसकेको छ । उपकरण जडान यहाँका प्राविधिकहरूले जडान गर्न नसक्ने भएर उपकरण जडान पूर्वका काम भएको छ ।
विदेशी प्राविधिक जनशक्ति आउने प्रतीक्षामा रहेको बताउँदै अधिकारीले जनशक्ति व्यवस्थापन भएमा करिब सय दिनमा निर्माण सम्पन्न हुने जानकारी दिनुभएको छ ।
सबै उपकरण आइसकेपनि फर्ड लाइट, एक्स-रे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट, भिएमआर/डीएमई सञ्चार उपकरण, एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको लागि चिनियाँ, अमेरिका, अस्ट्रिया, थाइल्यान्डका प्राविधिक आउनुपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button