तपाईँ सुन्दै हुनुहुन्छः

डाक्टर माथि हातपात गरेपछि अस्पतालमा धर्ना

रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन् ।
गत पुस १० गते राति ११ बजे बिरामीको उपचारको क्रममा मादक पदार्थ सेवन गरेका बिरामीका कुरुवा अनुराग रसाइलीले डियुटिमा रहेका १ जना डाक्टरलाई हातपात गरेको र ३ जना प्यारामेडिकललाई अपशब्द बोलेको डाक्टर राजेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा डाक्टरमाथि हातपात भएको क्षेत्रीले बताउनुभयो ।
डाक्टरलाई हातपात गर्ने कुरुवालाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कुनै कानुनी कारबाही प्रक्रिया अघि नबढ्दा आफूहरू आन्दोलित हुन बाध्य भएको उहाँले बताउनुभयो ।
चिकित्सकमाथि हुने प्रहार आफूहरूलाई मान्य नभएको र हातपात गर्ने माथि कानुनी कारबाही हुनुपर्ने डाक्टरले माग राखेको स्वास्थ्यकर्मी राजेन्द्र राईले बताउनुभयो । डाक्टरमाथि हातपात गर्ने कुरुवालाई कानुनी कारबाही नहुँदासम्म आफूहरूको धर्ना जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button