नयाँ जनादेशमा जाँदा लोकतन्त्र अझै बलियो हुन्छः सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टीभित्रैबाट केही नेताहरुले सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्ने काम गरेकाले नयां जनादेशमा जानुपर्ने निर्णय लिनुपरेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले पकाशनमा ल्याएको विभिन्न पकाशनहरुको आज काठमाडौंमा सार्वजनिकीकरण गर्दै सञ्चारमन्त्री गुरुङले नयाँ जनादेशमा जाने सरकारको निर्णय बाध्यकारी भएको र यसबाट लोकतन्त्र अझ बलियो हुने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले वर्तमान परिवर्तित राजनीतिक सन्दर्भमा सञ्चार माध्यमले समाजलाई भड्काउने नभई सकारात्मक प्रभाव पार्ने गरी संयमित भएर काम गर्नुपर्ने बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको र नागरिकका कुनै पनि अधिकार कुण्ठित नपारिएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालका पकाशनहरु महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ पुस्तकका लेखक धर्मेन्द्र झा, प्रेस काउन्सिल नेपालका अध्यक्ष गोपाल बुढाथोकी लगायतका वक्ताले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढ्नुपर्ने र त्यसका लागि सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल प्रेस काउन्सिलले शैली पुस्तिका, पत्रकार आचारसंहिता, नेपाली र अंग्रेजी भाषका अतिरिक्त मैथिली र नेपाल भाषामा प्रकाशनमा ल्याएको छ । यसैगरी, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’ पुस्तक प्रकाशनमा ल्याएको हो । ती सबै प्रकाशनको सञ्चारमन्त्री गुरुङले आजै सार्वजनिकीकरण गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्