तपाईँ सुन्दै हुनुहुन्छः

आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा करिब ६ सयलाई प्रतिरोधात्मक औषधि वितरण

अछाम । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले कोरोना सङ्क्रमित तथा क्वारेनटाइन तथा होम आइसोलेसनमा बसेका नागरिकहरूलाई रोग प्रतिरोधात्मक औषधि वितरण गर्दै आएको थियो ।

उक्त कार्यक्रम अन्तर्गत हालसम्म अछाममा करिब ६ सय जनालाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । कोरोना सङ्क्रमित तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका नागरिकहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका गरी ५ सय ८३ जनालाई औषधि सहित परामर्श दिइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य खडक बमले जानकारी दिनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रले अश्वगन्धा चूर्ण, च्यावन प्राश अवलेह, गुडुची चूर्णलगायतका औषधि वितरण गरिरहेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्दै आएको छ ।

यसैबीच जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामबाट पहिलो चौमासिकमा साढे १४ सय बढिले सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र अछाममा पहिलो चौमासिकमा १४ सय ५८ जनाले सेवा लिएका हुन । यो अवधिमा सेवा लिने १४ सय ५८ जनामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

४ महिनाको अवधिमा ९ सय ५० जना महिलाले सेवा लिएका छन् भने ५सय ८ जना पुरुषले सेवा लिएका जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामले जानकारी दिएको छ ।

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय आयुर्वेदिक पद्धतिको उपचारमा आकर्षण बढ्दै गएको छ । तर अछाम जिल्लामा सदरमुकाम बाहेक अन्य ठाउँमा पनि आयुर्वेदिक केन्द्रले दिने सेवा उपलब्ध गराउनुपर्ने सेवाग्राहीले माग गरेका छन् ।

उपचारको आवश्यकता रहेका बृद्धवृद्धा र बालबालिकालाई सेवाको पहुँचसम्म पुर्‍याउन ग्रामीण क्षेत्रमा पनि केन्द्रको आवश्यकता रहेको उनीहरूको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button