अछाममा दोस्रो चरणमा छाउगोठ भत्काउने अभियान तीव्र

अछाम । अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइएको छ ।
दोस्रो चरणको अभियान अन्तर्गत अहिलेसम्म अछाममा बुधवारसम्म ८३ ओटा छाउगोठ भत्काइएका छन् । पुस ४ गतेदेखि अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको छ ।
दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
छाउगोठ भत्काउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा २८ ओटा छाउगोठ भत्काइएका छन् ।
यस्तै मेल्लेख गाउँपालिकामा २१, पञ्चदेवल विनायक नगरपालिकामा २९ र तुर्माखाद गाउँपालिकाका ८ वटन गरी अहिलेसम्म ८३ ओटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
यसैबिच बान्निगढी जयगढ गाउँपालिकामा पनि दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सुरु भएको छ । जसअन्तर्गत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा ५ ओटा छाउगोठ भत्काइएका छन् ।
वडा अध्यक्ष कुल बहादुर शेठ्ठीको नेतृत्वमा गएको सरोकारवाला तथा सुरक्षाकर्मीको टोलीद्वारा बर्दादेवी गाविसका साबिकको वडा नम्बर १ देखि ५ सम्मका विभिन्न टोलका ५ वटा छाउगोठ भत्काइएको जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्