सूचनाको हकलाई कार्यान्वयनमा ल्याउँदा जनप्रतिनिधिको लोकप्रियता थपिने : प्रमुख आयुक्त गुरुङ

भकुण्डेवेंसी, काभ्रे । सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना दिने जनप्रतिनिधिको लोकप्रियता अभिवृद्धि हुने बताउनुभएको छ ।
काभ्रेपलान्चोक जिल्लाको भुकुण्डेवेंसीमा आज आयोजित ‘सूचनाको हक सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त गुरुङले सो कुरा बताउनु भएको हो ।
प्रमुख आयुक्त गुरुङले सूचनाको हक कार्यान्वयन हुँदा स्थानीय तहको कामलाई जनताले परीक्षण गर्ने अवसर प्राप्त हुने धारणा राख्नुभयो । सूचना लुकाउने भन्दा सूचनालाई जनतासम्म पुर्याउने जनप्रतिनिधिको गरिमा बढ्ने उहाँले दाबी गर्नुभयो ।
राष्ट्रिय सूचना आयोगले नमोबद्ध नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाका लागि सो एक दिवसीय अन्तरक्रिया कार्यक्रममा आयोजना गरेको हो ।
आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सार्वजनिक निकायको काम कारबाहीबारे जान्न पाउने नागरिकको संवैधानिक अधिकार भएको बताउनुभयो ।
उहाँले सूचनाको हकसम्बन्धी नागरिक अधिकारको सम्मान गर्न स्थानीय तहको प्रभावकारी भूमिका रहने धारणा व्यक्त गर्नुभयो । आयुक्त मैनालीले सूचनाको हकको प्रयोग बढाउन वडा स्तरसम्मका जनप्रतिनिधिसँग आयोगले सहजीकरण गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव डा. मुकुन्दप्रसाद पौड्याल र उपसचिव कपिलप्रसाद उपाध्यायले सूचनाको हक सम्बन्धी प्रावधानबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नगर प्रमुख टिपी शर्मा (तिमिल्सिना) ले वडा स्तरसम्म सूचनाको हक कार्यान्वयनका लागि बजेट तथा कार्यक्रममा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यसको सुरुवात नगरको हिउँदे अधिवेशनबाट हुनेछ’ नगरप्रमुख शर्माले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नमोबद्ध नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजन पौडेलले नगरपालिकाले स्थानीय तामाङ भाषामा समेत सूचनाहरू सार्वजनिक गर्ने प्रक्रिया थालेको जानकारी दिनुभयो ।
त्यसै गरी, नगर उपप्रमुख रामदेवी तामाङले सूचना माग गर्ने पक्ष कमजोर रहेकाले नगरले समूहगत रूपमा अभिमुखीकरण सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगले स्थानीय तहका विद्यालयहरूलाई समेत खर्च सार्वजनिक गर्ने दायित्व पुरा गर्ने आदेश जारी गर्ने कार्यक्रममा जानकारी गराइयो ।
अन्तरक्रिया कार्यक्रममा नमोबद्ध नगरपालिका अन्तरगतका ११ वटा वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरको सूचना अधिकारी विनोद रसाइली, कर्मचारीहरू र सरोकारवालाहरू अन्तरक्रिया कार्मायक्रममा सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्