परम्परागत हानिकारक अभ्यासबारे सचेतनामूलक अभिमूखिकरण सुरु
सप्तरी । सामाजिक विकास शाखा महिला तथा बालबालिका उपशाखा कञ्चनरुप नगरपालिका सप्तरीले आजबाट दुई दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत नगरसभा सदस्यहरुलाई परम्परागत हानिकारक अभ्यासबारे सचेतनामूलक अभिमूखिकरण कार्यक्रम सुरु भएको छ ।
कार्यक्रममा नगर प्रमुख बसन्त कुमार मिश्रले हामीले आफ्नै घर परिवारबाटै लैङ्गिक हिंसालाई अन्त्य गरेर अगाडि बढेमा समाजमा लैङ्गिक हिंसा अन्त्य हुने बताउनुभयो । उहाँले अपराध गर्नेलाई संरक्षण गरेकै कारणले गर्दा अहिलेको अवस्थामा लैङ्गिक हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो ।
नगर उपप्रमुख निरु पोखरेलले जनप्रतिनिधिहरुले लैङ्गिक हिंसा गर्नेहरुलाई कहिल्यै पनि संरक्षण गर्न नहुने बताउँदै लैङ्गिक हिंसाले गर्दा महिलाहरु बढी मात्रामा पीडित भएकोमा दुख व्यक्त गर्नुभयो ।
अभिमूखिकरण कार्यक्रममा सामाजिक विकास शाखा महिला तथा बालबालिका उप शाखाकी महिला विकास अधिकृत सुशीला कुमारी चौधरी र भावना घिमिरेले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्