मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ : गृहमन्त्री थापा

काठमाडौँ । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्वलाई साथ दिनुपरेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपाको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताउनुभयो ।
गृहमन्त्री थापाले प्रतिनिधिसभाको विघटन अग्रगामी कदम भएको र पुनस्थापनाको माग पश्चगामी कदम हुने बताउनुभयो ।
उहाँले, जनताबाट निर्वाचित संसद्ले मात्र प्रतिगमन र अस्थिरतालाई पराजित गर्न सक्ने भएकोले नै आफूहरू स्थिरताका लागि निर्वाचनको अभियानमा होमिने बताउनुभयो ।

गृहमन्त्री थापाले पार्टीको मूल नेतृत्वलाई स्थापित गर्ने कि विस्थापित गर्ने, क्रान्तिलाई अघि बढाउने कि प्रतिक्रान्तिलाई भन्ने प्रश्न गर्दै अध्यक्ष ओली नेतृत्वको पार्टीले क्रान्तिलाई अघि बढाउँदै गुटलाई पराजित गर्ने बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले शपथ ग्रहण गर्न बाँकी रहेका केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्