मध्यपुर थिमि नगरपालिका एसियन टाउनस्केप अवार्डबाट पुरस्कृत

भक्तपुर । मध्यपुर थिमि नगरपालिका एसियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको छ । यस अवसरमा नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी अवार्ड प्राप्त गर्न भूमिका निर्वाह गर्ने सहयोगी हातहरूलाई आभार प्रकट गरेको छ ।
हिजो साँझ आयोजित कार्यक्रममा नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा पाएको सफलतालाई आधार मान्दै मध्यपुर थिमि नगरपालिका एसियन टाउनस्केप अवार्डबाट पुरस्कृत भएको बताउनुभयो ।
सहरी क्षेत्रको विकासमा सक्रिय युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै सो पुरस्कार प्रदान गरेको हो ।
प्रत्येक वर्ष युएन हेबिट्याटको एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले दिइँदै आएको सम्मान पाउने मध्यपुर थिमी नगरपालिका नेपालकै एक मात्र नगरपालिका भएको प्रमुख श्रेष्ठले बताउनुभयो।
श्रेष्ठले पुरस्कारले थप जिम्मेवार बनाएको बताउँदै यो पुरस्कार पाउनमा उपभोक्ता समिति, नगरपालिका परिवारका साथै सम्पूर्ण थिमीवासी र पत्रकारको को ठूलो हात रहेको भन्दै आभार प्रकट गर्नुभयो ।
आफू नगरप्रमुख भएपछि पोखरी ५, विहार २, ढुंगेधारा २०, पाटी २५, इनार ८ र पार्क २ वटा निर्माण तथा जीर्णोद्धार गरेको बताउँदै अझै धेरै कार्यहरू गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थी,नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष बचन देउजा,कांग्रेस नगर सभापति सुरेन्द्र श्रेष्ठ,नगरपालिकाका पूर्व उपप्रमुख मुरारी आचार्य ,युएन ह्याबिट्याटका प्रतिनिधि लगायतले नगरपालिकालाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्साहका साथ सम्पदा संरक्षण र तिनको दिगोपनका लागि काम गर्न सुझाव दिनुभयो ।
प्रतिस्पर्धामा मध्यपुर नगरपालिकासँगै दक्षिण कोरियाका ४, जापानका ३, चीनका २ तथा मलेसिया, नेपाल र थाइल्यान्डका एक–एक वटाले यस्तो पुरस्कार प्राप्त गरेका हुन् ।
बढ्दो शहरीकणसँगै बेवास्तामा पर्ने गरेको परम्परागत, ऐतिहासिक धरोहर तथा प्राकृतिक क्षेत्र संरक्षणको मुद्दामा काम गर्दै प्रगति हासिल गरेका एसियाली शहरहरुलाई यस्तो पुरस्कार दिइँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्