तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिलोपटक बिजुलीको चिम उत्पादन शुरु

अछाम । अछाममा पहिलो पटक बिजुलीको बल्ब अर्थात् चिम उत्पादन सुरु भएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ विनायक बजारमा बिजुलीका चिम उत्पादन सुरु गरिएको हो । स्थानीय युवा भीम नेपाली र कमल विकले जिल्लामै पहिलो पटक बिजुलीका चिम उत्पादन व्यवसाय सुरु गरेका हुन् ।

चिम उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ सहजै उपलब्ध भए चिम उत्पादन व्यवसायलाई थप बिस्तार गर्दै अन्य बेरोजगार युवालाई पनि स्वरोजगार बनाउन सकिने व्यवसायी कमल विकले बताउनुभयो ।

व्यवसायी भीम नेपालीले अहिले विनायक बजारमा चिम उत्पादन गरेर आसपासका व्यापारिक केन्द्रहरूमा चिम बिक्रीका लागी पठाउन थालिएको बताउनुभयो ।

सुमन हिमानी रिसर्च एण्ड प्रोडक्सन प्रालि नामक उद्योगबाट उत्पादन हुने बिजुलीका चिम छिमेकी जिल्ला दैलेख, कालिकोट लगायतका व्यापारिक केन्द्रमा पठाउन थालिएको व्यवसायी भीम नेपालीले जानकारी दिनुभयो ।

यस क्षेत्रमै पहिलो पटक सुरु गरिएको चिम उत्पादन व्यवसायले आफूहरू सन्तुष्ट बन्नेमा विश्वस्त रहेको उहाँको भनाई छ । स्थानीय सरकारले स्वरोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने नेपालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button