तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र डिजिटाइजेशनका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योग, व्यवसाय क्षेत्रको विकास र डिजिटाइजेशनका लागि सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ अवधारणा कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको पहिलो ‘इन्डस्ट्री गभर्मेन्ट डाइलग’ कार्यक्रमका अर्थमन्त्री पौडेलले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका साथै अन्य सम्बन्धित निकायबीचको तत्काल सार्थक बैठकको तयारी गर्न क्यानलाई आग्रह गर्दै सूचना प्रविधि क्षेत्रमा विश्व सँगसँगै अघि बढ्न नेपाल सक्षम भइसकेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि दक्ष जनशक्ति उत्पादन र उत्पादित जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले १५ औँ योजनाको २५ वर्षे रणनीतिमा ‘कनेक्टिभिटी’लाई मूल रुपमा उल्लेख गरिएको र १८ वटा रुपान्तरणकारी योजनामध्ये डिजिटल नेपाल पनि एक भएको बताउनुभयो ।

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैँकले तरकारी बजारदेखि हरेक पसल पसलसम्म नोटको प्रयोग कम गर्ने उद्देश्यले चाँडै क्यूआर कोड अभियान सञ्चालन तयारीमा रहेको बताउनुभयो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष नवराज कुँवर लगायतले लकडाउनको समयमा अभ्यास भएको वर्क फ्रम होम र एजुकेसन फ्रम होमले सूचना प्रविधिको महत्व दर्शाएकोले त्यसको प्रयोगमा जोड दिनुभयो ।

कार्यक्रमको सुरुवातमा नेपालमा ईन्टरनेटको वारेमा, क्यान महासंघका सदस्य तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का पुर्व अध्यक्ष विनय बोहोराले, नेपालमा सफ्टवेयर उद्योगका वारेमा क्यान महासंघको सफ्टवेयर , आईटीईएस र बीपीओ समितिका सदस्य राम प्रसाद ढुंगानाले, नेपालमा सुचना तथा सञ्चार प्रविधि सम्बन्धि हार्डवेयर उद्यमका बारेमा क्यान महासंघका सदस्य तथा उद्यमी शुरेश लोहनीले तथा, डिजिटल नेपाल बनाउने सन्दर्भमा डिजिटल सिग्नेचरका सन्दर्भमा क्यान महासंघका पुर्व अध्यक्ष विप्लवमान सिंहले प्रस्तुति गर्नुभएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button