वीरगञ्जबाट ७६ अर्ब ३३ करोड बराबरका सामान निर्यात
वीरगञ्ज । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ५ महिनामा भारततर्फ ७६ अर्ब ३३ करोड रुपैयाँ बराबरको विभिन्न मालसमान निर्यात भएको छ ।
चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबैभन्दा बढी भारततर्फ निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताउनु भयो । कोरोना महामरीका कारण वीरगञ्ज नाकाबाट भारततर्फ हुने निकासी समेत प्रभावित भएको अधिकृत सुकमनीले बताउनुभयो ।
चालू आर्थिक वर्षको पहिलो ५ महीनामा वीरगञ्ज नाकाबाट मात्रै ९ अर्ब १० करोड रुपैयाँ मूल्य बराबरको ६ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको छ । वीरगंज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले तेल निकासी गर्दै आएको छ ।
गत आव २०७६–७७ को साउनदेखि मङ्सिरसम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय ७९ प्रतिशतले बृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।
पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगञ्ज भन्सार कार्यालयको अधिकृत रमेश सुकमनीले बताउनुभयो । गत वैशाखको अन्त्यमा भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो ।
पाम निकासी हुन नसकेपछि स्वदेशी उद्योगीले भटमासको कच्चा तेल ल्याएर प्रशोधनपछि भारत निकासी गर्न थालेका छन् । अर्जेन्टिना, ब्राजिल, युक्रेन, इन्डोनेशिया लगायत देशबाट भटमासको अर्धप्रशोधित तेल आयात हुने गरेको छ ।
यस्तो तेल नेपालबाट शूल्य भन्सार सुविधामा भारत निकासी हुँदै आएको छ । त्यसैगरी वीरगञ्ज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्राससहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् ।
त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीटलगायत वस्तु समेत ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्