पर्वतको जलजलामा मजदूर सञ्चयकोष

पर्वत । पर्वतको जलजला गाउँपालिकाले मजदूर सञ्चयकोष सञ्चालन गरेको छ । मजदूरहरुको कल्याणका लागि भन्दै गाउँपालिकाले कोष स्थापना गरेको जनाएको छ । यो कोषमा गाउँपालिकाले ५ सय र मजदूरले मासिक ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने कार्यविधि बनाईएको छ ।
६० वर्ष कटेका मजदूरको हितका लागि कार्यक्रम कार्यान्वयन गर्न खोजिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । कोष सञ्चालनको लागि कर्मचारी सञ्चय कोषसँग कुराकानी भइरहेको तथा सञ्चय कोषसँग सहकार्य हुन नसकेमा कुनै बैंकसँग सहकार्य गरेर पनि मजदुरको नाममा खाता खोल्ने गाउँपालिकाको तयारी छ ।
गाउँपालिकाले वार्षिक ५० लाख रुपैयाँ कोषमा लगानी गर्ने जनाएको छ । प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माका अनुसार नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउँदै आएकाहरू यो कार्यक्रममा समावेश हुन पाउने भए पनि पेन्सन पाउँदै आएकाहरू भने यसको मापदण्डमा पर्ने छैनन् ।
त्यसका लागि कोषमा जोडिन चाहने व्यक्ति काम गरेर छाक टार्ने वाला हो वा होइन भनी समिति मार्फत परीक्षण हुनेछ । यस्तै मजदुर हुन नेपाल सरकारले तोकेका मापदण्डभित्र पर्नुपर्ने भनिएको छ ।
शर्माले पहिलो चरणमा एक परिवारको एक जनाका लागि मात्रै सञ्चय कोषको व्यवस्था गरिने र यसको प्रगतिको अवस्था हेरेर दोस्रो चरणमा परिवारका एकभन्दा बढी सदस्यका लागि पनि योजना लागु हुन सक्ने बताउनुभयो । जलजला गाउँपालिकामा हाल पाँच हजार पाँच सय ६१ घर रहेको तथ्यांक छ ।








प्रतिक्रिया राख्नुहोस्