तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा सशस्त्र प्रहरीका दुई विओपी उद्घाटन

वीरगञ्ज । सशस्त्र प्रहरी बलले नेपाल भारतको खुल्ला सिमानामा कडाइ गर्न पर्सा र बारा जिल्लामा ३ देखी ५ किलोमिटरको फरकमा बिओपी स्थापना गर्ने अभियान अन्तरगत आज पर्साका दुई स्थानमा विओपी उद्घाटन गरिएको छ ।

मुलुकको प्रमुख नाका वीरगञ्जको ड्राईपोर्ट भन्सार र जगरनाथपुर गाउँपालिकाको पिडारगुठीमा सशस्त्र प्रहरीको आज एक कार्यक्रमबीच विओपी स्थापना गरिएको सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ का प्रमुख एवं सशस्त्र प्रहरी नायव महानिरिक्षक चन्द्रप्रकाश गौतमले आज एक कार्यक्रमबीच बिओपीको उदघाटन गर्नुभएको हो । कार्यक्रममा डिआइजी गौतमले प्रदेश नम्बर २ मा ६१ वटा नयाँ बिओपी स्थापना गर्ने अभियान सञ्चालनमा रहेको बताउनुभयो ।

सो अवसरमा सीमा क्षेत्रमा हुने अवैध तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल प्रदेश २ का डिआइजी गौतमले मातहतका निकायलाई निर्देशन समेत दिनुभयो ।

खुल्ला सीमाको कारण बारा, पर्सा, रौतहट लगायत प्रदेश २ का जिल्लाहरुमा राजस्व छली अवैध रुपमा सामानको आयात निर्यात हुने गरेको र अपराधिक गतिविधिमा संलग्नहरु समेत सिमा वारपार गर्ने हुँदा यस्ता गतिविधि नियन्त्रणका लागि सरकारले सिमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको गौतमले बताउनुभयो ।

आज उद्घाटन भएका सशस्त्र प्रहरीको ड्राईपोर्ट र पिडारीगुठी विओपीमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी रहने सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

विओपी उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रमुख भन्सार प्रशासक महेश आचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button