तपाईँ सुन्दै हुनुहुन्छः

घरदैलोमै निःशुल्क सेवा, ४ सय बढीको उपचार

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकाको भार्मामा सन्चालन भएको स्वास्थ्य शिविरमा चार सय बढीको निःशुल्क उपचार गरिएको छ ।

लाइन्स क्लव अफ जाजरकोट, कुशेले आयोजना, गाउँपालिकाको आर्थिक तथा प्रदेश अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको हो । बाल रोग तथा स्त्री रोग सम्वन्धी शिविरमा बालबालिका र महिला गरी ४ सय बढीले उपचार सेवा पाएका गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

शिविरमा महिलाको पाठेघर खस्ने, दम, कुपोषण, फोक्सो र मुटु तथा बालबालिकामा कानको संक्रमण, कानको जाली फुटेका, दीर्घ मुटुरोगी, कुपोषण, छालासम्वन्धी समस्या बढी देखिएको बालरोग विशेषज्ञ डा. नवराज केसीले बताउनु भयो ।

अटिजम भएका, कानका जाली फुटेका बालबालिका र पाठेघर खसेका महिलालाई सुर्खेतमा ल्याएर निुःशल्क उपचार गरिने डा. केसीले बताउनु भयो । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. केसीले बालरोग, महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन सके मात्रै समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आर्थिक अभावले गर्दा उपचारको लागि सुविधायुक्त अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्न नसक्ने बिरामीका लागि शिविर निकै लाभदायी भएको बताउनु भयो ।

१५ जना पाठेघर खसेका महिलालाई थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको छ । घर दैलोमै निशुल्क उपचार सेवा पाउदा स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button