तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल खेलाडी श्रेष्ठको बुवाको उपचारका लागि करिब १० लाख हस्तान्तरण

स्याङ्जा  । फुटबल खेलाडी विश्वास श्रेष्ठको बुवाको उपचारका लागि सङ्कलित झण्डै १० लाख रकम हस्तान्तरण गरिएको छ ।
२३ वर्ष मुनिको राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी विश्वासका बुवा रूपनारायण श्रेष्ठको उपचारका लागि सङ्कलित रकम ९ लाख ९१ हजार ४०३ रुपैयाँ छोरा विश्वासलाई हस्तान्तरण गरिएको हो ।
रूपनारायणको उपचारमा अहिलेसम्म झण्डै ३५ लाख खर्च भइसकेकाले परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएपछि आर्थिक सङ्कलन अभियान चलाइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनले बताउनुभयो ।
वालिङ नगरपालिका–८ शितलनगर घर भएका रूपनारायणको घर निर्माणका क्रममा हाइटेन्सन तारमा छोइएर करेन्ट लाग्दा शरीरको करिब आधा भाग जलेको छ भने चार तलामाथिबाट खस्दा देब्रे खुट्टा भाँचिएको छ ।
एक महिना अघि मङ्सिर ४ गते गम्भीर घाइते भएका श्रेष्ठ ग्राण्डी अस्पताल काठमाडौँमा उपचाररत हुनुहुन्छ ।
आर्थिक सङ्कलन अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्र घरदैलोबाट रु. चार लाख ३३ हजार ८०, विदेशबाट सहयोग प्राप्त रु. तीन लाख ९१ हजार ७८३, वालिङ बाहिर स्वदेशबाट रु. एक लाख ६१ हजार ५४० र गोल नेपालबाट रु. १० हजार गरी उक्त रकम सङ्कलन भएको वालिङ फुटबल क्लबका उपाध्यक्ष मोतीलाल कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button