जुम्लामा पहिलो सिस्नो प्रशोधन उद्योग सञ्चालन

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा पहिलो सिस्नो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । बाटोमा खेर गइरहेको सिस्नो सङ्कलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन् । जुम्लाका आठै स्थानीय तहमा आफै उत्पादन हुने सिस्नोको व्यवस्थापन नभइरहेको अवस्थामा हिमा गाउँपालिकाका महिलाले उदाहरणीय रुपमा सिस्नो प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् ।
सृजनशील महिला उद्यमी समूहमा आबद्ध महिलाहरू हिमा गाउँपालिकाका भरी पाइने सिस्नोको बजारीकरणका लागि प्रशोधन उद्योग स्थापना गरेर आयआर्जनको क्रियाकलापमा जुटेका छन् ।
सिस्नोको प्रयोगबाट क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्त्व पाइने भएकाले पनि माग बढी रहेको हिमा गाउँपालिका ४ का वडाध्यक्ष मुन बहादुर बुढाले बताउनुभयो । भने सिस्नोको प्रयोगले मुटु तथा मधुमेहसम्बन्धी रोगका बिरामी, उच्च रक्तचापका बिरामी निको हुने भए पनि माग बढी छ ।
हिमा गाउँपालिका ४ का वडाध्यक्ष मुनबहादुर बुढा र पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले संयुक्त रुपमा सिस्नो उद्योगको उद्घाटन गरिएको छ । वडाध्यक्ष बुढाले खेर गइरहेको सिस्नोबाट हिमाका स्थानीय महिलाले मनग्य आम्दानी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“जुम्लामा सिस्नो जहाँतहीँ भेटिन्छ । व्यवस्थापन नहुँदा बर्षेनी खेर जाने गरेको र सिस्नोको महत्त्वका बारेमा धेरैलाई जानकारी नहुँदा सही प्रयोगमा आउन सकेको थिएन । अहिले उद्योग स्थापनाले खेर गएको सिस्नोको बजारीकरण सँगै आम्दानी पनि वृद्धि हुनेमा दुई मत छैन ।”
सिस्नो प्रशोधन उद्योग दिगो व्यवस्थापन तथा बजारीकरणका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने समेत वडाध्यक्ष बुढाको प्रतिबद्धता छ । जुम्ली अर्ग्यानिक सिस्नोको पाउडर लक्ष्यअनुसार प्रशोधन गरेको खण्डमा जुम्ला ब्राण्डनै तयार गर्न सकिनेमा जोड दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको आवतजावत हुने रारा जाने मूलबाटोमै सिस्नो उद्योग स्थापना भएकोले बजारीकरण सहज हुने छ ।
यता पेस नेपालका अध्यक्ष किशोर न्यौपाने भन्नुहुन्छ, “न सिस्नोको खेती गरिन्छ । नत सिस्नोलाई महत्त्वका साथ हेरिन्छ । तर पहिलो पटक जुम्लामा सिस्नो प्रशोधन उद्योग स्थापनाले सिस्नोको महत्त्वलाई दर्शाएको छ ।”
उहाँले उद्योगलाई निरन्तरता दिँदै यहाँ प्रशोधित सिस्नोलाई बजार सम्म लैजानको लागि सहयोग गर्ने बताउनुभयो । बाह्य बजारमा सिस्नाको माग बढी रहेकाले प्रशोधनमा जोड दिन समेत सुझाव दिनुभयो ।
पेस नेपालको क्याप्स कर्णाली परियोजना मार्फत सिस्नोको पाउडर बनाउने, बजारीकरण गर्न, मुल्य निर्धारण गर्ने लगायतका विषयमा तालिम पाएपछि हिमाका स्थानीय महिलाले उद्योग स्थापना गरेका हुन् । उद्योगमा लेबलिङ, प्याके्ेजिङ गर्ने उपकरण देखि प्रशोधन मेसिन खरिद गरिएको छ । सिस्नो टिप्दा हातमा लगाउने पन्जा पनि दिइएको छ । प्रत्येक गाउँबाट सिस्नो सङ्कलन गरेर तत्काल सुर्खेत, नेपालगन्ज, काठमाडौँ र कालिकोटमा निर्यात गरिने तयारी छ ।
हाल प्रतिकेजी सिस्नोको पाउडर ६ सयमा बिक्री भइरहेको छ । सिस्नो उद्योग स्थापनाका लागि पेस नेपालले आवश्यक आर्थिक, प्राविधिक तथा भौतिक सहयोग गरेको छ । स्थानीयले उद्योग नियमित रुपमा चलाउने र सिस्नोको व्यावसायिक उद्यम सञ्चालन गर्ने विषयमा गम्भीर बनेको व्यवसायी महिलाहरू बताउँछन् ।








प्रतिक्रिया राख्नुहोस्