तपाईँ सुन्दै हुनुहुन्छः

बोक्सी आरोपमा कुटपिट गर्ने ५ जना पक्राउ

बागलुङ । बोक्सीको आरोपमा कुटपिट र यातना दिएको आरोपमा पश्चिम बागलुङका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर २ की ३६ वर्षीया एक महिलालाई यातना दिएको आरोपमा सोही स्थानका तेजबहादुर राना, विजय राना, जुना राना र उमा राना र नाम नखुलाइएका अर्का एकजना पक्राउ परेका हुन् ।

उनीहरूले पीडित महिलालाई मुखमा टेप टाँसेर निर्घात कुटपिट गरेको, मानसिक यातना दिएकोले पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । ती महिलाको ६ वर्षको छोरा र १३ महिनाकी छोरी छिन् । पीडितको धौलागिरी अस्पतालमा स्वास्थ्य परीक्षण र उपचारपछि घर पठाइएको छ ।

बोक्सीको आरोपमा नियमितजसो यातना दिएकोले कसुर बढिनै देखिएको जानकारी दिँदै प्रहरी उपरीक्षक श्रेष्ठले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश आइसकेको बताउनुभयो । नियोजित रुपमा लामो समयदेखि महिलालाई यातना दिएकोले अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button