तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन नसक्ने : सदस्यसचिव सिलवाल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले बिहीबार पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा सदस्यसचिव सिलवालले खेलकुदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकुद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले फाउण्डेशनले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसला अभिवृद्धिमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई नगदसहित सम्मान गरेको छ ।

एकेडेमीले सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही ५१ हजार ५०० सहित सम्मान गरेको छ ।

एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति र खेलकुदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button