सुर्खेतमा सुविधा सम्पन्न आयुर्वेद चिकित्सालय बन्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सुविधा सम्पन्न आयुर्वेद चिकित्सालय बन्ने भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई प्रवर्द्धन एवम् विस्तार गर्न सङ्घीय सरकारले वीरेन्द्रनगरमा ५१ कोठाको तीन तले सुविधा सम्पन्न आयुर्वेद अस्पताल बनाउन लागेको हो ।
पहिलो चरणमा २२ करोड ६० लाख रुपैयाँको लागतमा प्रदेश आयुर्वेद औषधालयको हाता भित्र उक्त अस्पताल बनाउन प्रारम्भिक प्रक्रिया सुरु भएको छ ।
अस्पतालको नाप, नक्सा, स्टमेटको कार्य पुरा भएर टेण्डरको अन्तिम प्रक्रियामा रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका इन्जिनियर टिकाराम पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै अवरोध नआए पुसको पहिलो÷दोस्रो साताभित्र चिकित्सालय भवनको टेण्डर आव्हान गर्ने तयारी भइरहेको छ ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा.शंकरप्रसाद रिजालले सात वटै प्रादेशिक आयुर्वेद अस्पताल बनाउने केन्द्र सरकारको नीति अन्तर्गत सुर्खेतमा पनि सुविधा सम्पन्न आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउन लागिएको बताउनुभयो ।
उहाँले आयुर्वेदिक सर्जरी, उपचारसहित वैकल्पिक चिकित्साका विभिन्न विधासमेत समेटी प्रदेश सरकार मातहत रहने गरी अस्पताल बनाउन लागिएको बताउनुभयो । ‘प्रदेश तहमा एक–एक वटा रेफरल अस्पताल, स्थानीय तहमा पनि कुनै न कुनै संरचना बनाउने सङ्घीय सरकारको नीति रहेको छ,’ डा.रिजालले भन्नुभयो, ‘सुर्खेतमा बन्ने अस्पतालबाट आयुर्वेदिक औषधि, पञ्चकर्म, योग, क्षार सूत्र (सर्जरी)सँगै प्राकृतिक चिकित्सा, अकुपन्चरलगायतका सेवा उपलब्ध हुनेछन् ।’
उहाँले साबिकको ‘प्रदेश आयुर्वेद औषधालयलाई नयाँ संरचनामा ‘वैकल्पिक चिकित्सा’ थपेर ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय’ बनाइएको बताउनुभयो ।
उहाँका अनुसार होमियोप्याथी तथा आम्ची चिकित्सा शाखा, प्राकृतिक तथा अकुपन्चर चिकित्सा शाखासमेत थप्ने योजना रहेको छ ।
आयुर्वेदका विद्यमान स्वास्थ्य संस्थाहरूबाट ९० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिए पनि हाल २३ प्रकारका औषधी मात्रै १२ महिनै उपलब्ध गराउन सकिएको डा.रिजाल बताउनुहुन्छ । ‘बजेट कम हुँदा सबै औषधि सधैँ पुर्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले टप १० डिजिजमा प्रयोग हुने २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएका छौँ ।’
उहाँले आयुर्वेदलाई मौलिक, भरपर्दो र साइडइफेक्टरहित चिकित्सा पद्धति भनिए पनि यो सरकारको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । उहाँका अनुसार सिङ्गै आयुर्वेद विभाग नै खडा गरिए पनि स्वास्थ्य सेवाको कुल बजेटको करिब ४ प्रतिशत मात्रै आयुर्वेदले पाउने गरेको छ ।
प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनाअनुसार सुर्खेतमा सुविधा सम्पन्न चिकित्सालय बन्न लागेको र यसलाई आफूहरूले प्रदेशको गौरवको योजनाका रुपमा लिएको प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले बताउनुभयो ।
उहाँले प्रदेशस्तरीय सो आयुर्वेदिक चिकित्सालयमा दैनिक आकस्मिकसहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशाला सेवाजस्ता पूर्वाधार निर्माण हुने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जडीबुटी समय नहुँदै दोहन हुँदा ह्रास हुँदै गएकाले जनचेतनासहित उच्चस्तरको प्रविधियुक्त स्रोत सङ्कलन र डिजिटल युक्त पुस्तकालय स्थापना गर्दछौँ ।’
उहाँका अनुसार कर्णाली प्रदेशभित्र मात्र वार्षिक ५० करोडसम्मको जडीबुटी उत्पादन हुँदै आएको छ । ‘कर्णाली जडीबुटीका लागि भण्डार मानिए पनि यहाँबाट सस्तो मूल्यमा कच्चापदार्थको रुपमा अन्यन्त्र पठाउने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘तर हामीले त्यही जडीबुटीबाट बनेको औषधि महँगो मूल्य तिरेर उपभोग गर्नुपरेको छ ।’
यहाँको जडीबुटीलाई कच्चापदार्थको रुपमा होइन, तयारी औषधिको रुपमा निर्यात गर्ने बेला भएको उहाँले बताउनुभयो ।
हाल प्रदेश आयुर्वेद औषधालयबाट स्त्री, प्रसूति सेवा, अर्बुद रोग उपचार, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा प्रदान हुँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्