कञ्चनपुरको वाणीमा प्रहरी चौकीको पक्की भवन बन्ने

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा प्रहरी चौकीको पक्की भवन बन्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पुर्व पश्चिम राजमार्ग अन्तर्गत वाणीमा प्रहरीलाई बस्नका लागि कार्यालय भवन बनाउन लागेको हो ।
निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य महेश दत्त जोशीले मंगलबार एक कार्यक्रमका बीच वाणी अस्थायी प्रहरी चौकीको भवनको शिलान्यास गर्नुभयो । भवन शिलान्यास गर्दै उहाँले यसअघि कच्ची भवनमा काम गर्दै आएका प्रहरीलाई अब दैनिक कामकाज सञ्चालनका लागि सहज हुने बताउनु भयो ।
प्रदेश सभा सदस्य जोशीले जनताको सुरक्षाका लागि गाँउगाँउमा सुरक्षाकर्मीको उपस्थिति गराउने उद्देश्य अनुरुप वाणीमा भवन निर्माण कार्य थालनी गरिएको बताउनु भएको छ । जनताको सुरक्षाका लागि कुनै कसर बाँकी नराख्न समेत प्रहरीसंग उहाँले अनुरोध गर्नुभएको छ । राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना लगायत गाँउमा हुने गैरकानुनी गतिविधी रोक्नका लागि वाणी प्रहरीले सकृयता देखाउनु पर्नेमा प्रदेश सभा सदस्य जोशीले जोड दिनुभयो । उहाँले समयमै काम सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारबाट वाणीमा प्रहरी भवन निर्माणका लागि प्रदेश सभा सदस्य जोशीकै पहलमा २० लाख रकम बजेट मार्फत भवन बन्न लागेको हो । वाणी प्रहरीको आफ्नै भवन बन्ने भएपछि शान्ति सुरक्षा एवं प्रहरीलाई समेत दैनिक कार्य गर्न सहज हुने स्थानीयको अपेक्षा छ ।






प्रतिक्रिया राख्नुहोस्