लिफ्ट प्रविधिले ल्यायो जयतपानीबासीमा खुशी
सल्यान । सल्यानको वनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका बासिन्दा यस अघि बिहान उठ्ने बित्तिकै पानीको जोहो गर्न हतारिन्थ्ये । नजिकै खानेपानीको स्रोत नभएपछि घण्टौं पैदल र मुहानमा पालो कुर्नुपर्ने बाध्यता थियो । जसले एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो ।
वर्षौदेखि खानेपानीको चरम अभाव झेल्दै आइरहेका जयतपानी बासीको सपना भने अहिले पुरा भएको छ । लिफ्ट प्रविधिबाट गाउँदेखि तलको पानी गाउँमा आएपछि उनीहरुको मुहारमा खुशी मात्र आएको छैन, पुराना पीडा पनि भुलेका छन् ।
आयोजना बनेपछि पानीको अभावमा वषौंदेखि काकाकुलको नियति भोग्न बाध्य जयतपानीबासीलाई ठूलो राहत मिलेको जयतपानी खानेपानी तथा सरसफाइ उपभाक्ता समितिका अध्यक्ष टेक बहादुर डाँगीले बताए । बस्तीभन्दा पाँच सय मिटर टाढा रहेको ठूलापोखरी मुहानबाट विद्युतीय मोटरले पानीलाई ट्यांकीमा भण्डारण गरी धारा वितरण गरिएको उनको भनाई छ ।
गाउँमा पानी आएपछि वषौंदेखि कम्मरमा बाँधेको पटुकी सुक्न पाएको स्थानीय रीता चन्दले बताइन । उनले भनिन ‘वषौंदेखि पानी बोक्दा कपालका रौं झरेका थिए । ढिलै भएपनि अहिले घरमै पानी आएको छ धेरै खुशी छु ।’
कर्णाली प्रदेश सरकारको ४६ लाख ८१ हजारको लागतमा निर्माण भएको आयोजनाबाट जयतपानीका ८६ घरधुरी भन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँमा खानेपानी आएपछि वषौंदेखि खानेपानीको समस्या भोग्दै आएका जयतपानीबासीमा खुशियाली छाएको समितिको अध्यक्ष डाँगीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्