‘स्थानीय तहको समन्वय र सिफारिसका आधारमा भूमिहीनलाई पुर्जा वितरण गरिने’

रुपन्देही । भूमिसम्बन्धी समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले स्थानीय तहको समन्वय र सिफारिसका आधारमा भूमिहीनलाई पुर्जा वितरण गरिने बताउनुभएको छ ।
वास्तविक भूमिहीनका विषयमा स्थानीय तहका जनप्रतिनिधि धेरै जानकार हुने भएकाले यसको दुरुपयोग रोक्नका लागि यस्तो गर्न लागिएको उहाँले बताउनुभयो ।
आज बुटवलमा लुम्बिनी प्रदेशका पालिकाहरूसँग यससम्बन्धी सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले निर्धारित समयमा आफ्नो कार्य योजना पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
देशभरका पालिकाबाट यसको लगत सङ्कलन गर्ने काम भइरहेको र अधिकांशले तथ्याङ्क समेत तयार गरेकाले यसको स्थायी समाधान गर्ने गरी अगाडि बढेको उहाँको भनाइ थियो ।
आवास र खाद्य नागरिकको पहिलो अधिकार भएको बताउँदै उहाँले तीन वर्ष कार्यकालको पहिलो वर्षमा १ सय ८७ पालिकाबाट काम सुरु भएको धारणा राख्नुभयो ।
बनको नाम रहेका तर बोटबिरुवा नभएको स्थानमा वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीको भनाई थियो । अहिलेको आयोग अधिकार सम्पन्न भएको र यसको संरचना प्रदेश तथा स्थानीय तहमा समेत बन्ने भएकाले काम गर्न सहज भएको उहाँको धारणा थियो ।
आइतबार आयोगले लुम्बिनी प्रदेशका सबै पालिकासँग सम्झौता गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्