तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउन आवश्यक’ : शिक्षामन्त्री पोखरेल

फाइल तस्बिर

भद्रपुर, झापा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनुपर्नेमा जोड दिनु भएको छ ।

कम्युनिष्ट योद्धा स्व.नरबहादुर कर्माचार्यको स्मतिमा स्थापित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा झापाको विर्तामोडमा सञ्चालित बहु प्राविधिक शिक्षालयको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुँदै मन्त्री पोखरेलले देशमा विज्ञान–प्रविधिमा आधारित प्राविधिक शिक्षाको आवश्यकता र औचित्य बढ्दै गएकोले तीनै तहको समन्वयमा सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभएको हो ।

विश्वका धेरै विकसित राष्ट्रले प्राविधिक शिक्षाकै माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी तिनै जनशक्ति प्रयोग गरेर देशलाई समृद्ध तुल्याएको भन्दै मन्त्री पोखरेलले २१ औं शताब्दीको वर्तमान अवस्थामा शीप र प्रविधिबिनाको शिक्षाको महत्व नरहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका झापा अध्यक्ष जेतिसिंह दर्लामीको अध्यक्षतामा आयोजित सो संक्षिप्त कार्यक्रममा मन्त्री पोखरेलले कोभिड १९ का कारण नराम्ररी प्रभावित बनेको शिक्षा क्षेत्रलाई उकास्न सबै क्षेत्रबाट थप योगदान पुर्याउनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो मन्त्रालयले शिक्षा सुधारका पक्षहरुलाई विश्लेषण गर्दै नयाँ नीति र ऐन तयार गरेको उल्लेख गर्दै दुबै संसदबाट पास भई ती नीति र ऐन कार्यान्वयनमा आएपछि शिक्षा क्षेत्रले गुणत्मक फड्को मार्ने पनि बताउनुभयो ।

उहाँले शिक्षामा सबै वर्ग र समुदायको सहज पहुँच पुर्याउन सामुदायिक शैक्षिक संस्थाहरुको सबलीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री पोखरेलले मन्त्रालय सातै प्रदेशमा उच्चकोटिको सीटीइभीटी स्थापना गर्ने तयारीमा रहेको जानकारी गराउँदै विद्यार्थीको चाहना अनुसार विद्यालय तहमै न्यूनतम शीप सिकाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

बहुप्राविधिक शिक्षालयले पहिलो वर्ष कृषिमा आधारित प्राविधिक विषय पढाउने र सयभन्दा बढी विद्यार्थी भर्ना भइसकेको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।

मन्त्री पोखरेल आजै मेचीनगरको अर्को एक कार्यक्रममा पनि सरिक हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button