पर्वतको मोदीमा दुईवटा झोलुङगे पुल बने

मंसिर -दुर्गम गाउँका बासिन्दालाई बजार आउजाउको लागि सहज बनाउन पर्वतको मोदी गाउँपालिकामा दुई वटा झोलुङगेपुल निर्माण गरि एकैदिन उद्घाटन गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतका दुई वटा पुलको बिहीवार उद्घाटन गर्नुभयो ।
मोदी गाउँपालिकाको वडा नं. ३ देउराली स्थित घुरुङशेरामा रहेको ठाडोखोलामा निर्मित स्टिल ट्रस्ट पुल र वडा नं. ३ देउराली र वडा नं. ४ क्याङ् जोड्ने टिमुरेघाट झोलुङ्गे पुलको तिमिल्सीनाले उद्घघाटन गर्नुभएको हो । स्टिल ट्रस्ट ब्रिज रु २५ लाख २७ हजार रुपैयाको लागतममा निर्माण सम्पन्न भएको हो । यसको लम्वाई ३२ मिटर लामो रहेको छ । गत असारमै निर्माण सम्पन्न भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उद्घाटनमा ढिलाई भएको हो ।
त्यसैगरी टिमुरेघाटमा बनेको झोलुङ्गे पुल रु.३३ लाख ९४ हजार ५ सय ५२ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । यो ६४ मिटर लामो रहेको छ । पुल उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले मुलुकको विकास निर्माणमा ठुलो असर पारेको बताउँदै अब कोभीड(१९ सँग सचेतना अपनाउँदै रोकिएका सवै कामहरुलाई सुचारु गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कोरोनाको संक्रमण कहिले सकिन्छ भन्ने अनिश्चित भएकाले पनि अब आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकासका काम गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिनुभएको छ । उहाँले जनप्रतिनिधिहरु संकटको बेला नागरिकहरुको रक्षाका लागि खटिन समेत आग्रह गर्नुभएको छ ।
उहाँले विकास निर्माणमा सवै पक्षको सहभागिता आवश्यक रहेको बताउँदै जनसहभागितामा भएका विकासका कामहरुनै दिगो र प्रभावकारी हुने बताउनुभयो । उहाँले विकास निर्माणका काममा राजनीति गर्नु आवश्यक नभएको बताउनुभएको छ । अहिले तीन तहका सरकारहरुले भौतिक पूर्वाधारलाई जोड दिईरहेको बताउँदै अबको तीन वर्ष भित्रमा मुलुकको विकासले फड्को मार्ने बताउनुभएको छ ।
तिमिल्सिनाले नागरिकहरुको सहजताका लागि बनेका यस्ता पुलहरुले दैनिकिलाई सहज बनाउने बताउँदै अब गाउँमै आयआर्जनको वाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले निर्वाहमुखि खेती प्रणालीले आर्थिक विकास हुन नसक्ने बताउँदै व्यावसायी हुन आग्रह गर्दैै व्यावसाय गर्नेका लागि तीनै तहका सरकारले प्रोत्साहनमुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले झोलुङ्गे पुल र स्टिल ट्रष्टले स्थानीयहरुलाई खोला वारपार गर्न सहज मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको मोदीका विभिन्न गन्तव्यमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने बताउनुभयो ।
उहाँले टिमुरेघाटमा बनेको पुल प्रत्यक्ष रुपमा पदमार्गसँग जोडिएकाले यहाँबाट भमरकोट, माटेको लेक, जलजला, मोहोरेडाँडा हुँदै पुनहिल जानका लागि समेत सहज हुने बताउनुभयो । विकास निर्माणमा नागरिकको सक्रियाता बढेमात्रै मुलुकको विकास छिटो हुने उहाँको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्