अछाममा गाउँपालिका अध्यक्षसहित ४० जनामा कोरोना सङ्क्रमण पुष्टि

अछाम – अछाम जिल्लामा पछिल्लो समय कोरोना भाईरस (कोभिड-१९) को सङ्क्रमण तीव्र रुपमा फैलिन थालेको छ ।
जिल्लामै पिसिआर प्रयोगशाला स्थापना भएपश्चात् परीक्षणको दायरा बढ्दा दिनदिनै सङ्क्रमित थपिन लागेका हुन् । बिहीबार मात्रै कमल बजार पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा अछाम जिल्लाका ४० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
बिहीबार तुर्माखाँद गाउँपालिका अध्यक्षसहित ४० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो ।
पछिल्लो एक सातामा सबैभन्दा बढी जिल्ला सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा कोरोनाको सङ्क्रमण दर उच्च रहेको छ ।
मंगलसेनमा पछिल्लो एक साता यता १०० बढी नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लामा आवतजावत बढ्नु र कोरोना प्रति सचेत नभई लापरबाही गर्नाले कोरोनाको सङ्क्रमण दर बढी भएको सरोकारवालाको बुझाई छ ।
आज अछाम जिल्लाका ९ जना महिला र ३१ जना पुरुष गरी ४० जनामा कोरोना पुष्टि भएको कमल बजार पिसिआर प्रयोगशालाले जनाएको छ ।
सूचना अधिकारी विष्टका अनुसार बिहीबार मंगलसेन नगरपालिकाका ८ महिला र १७ पुरुष गरी २५ जना, कमल बजार नगरपालिकामा ४ जना पुरुष, तुर्माखाँद गाउँपालिकामा ४ जना पुरुष, बान्नीगढी जय गढ गाउँपालिकामा ३ जना पुरुष, चौर पाटी गाउँपालिकामा २ जना पुरुष, ढकारी गाउँपालिकाका १ जना पुरुष र रामारोशन गाउँपालिकामा १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
यस्तै जिल्ला बाहिर घर भएर अछाम जिल्लामा कार्यरत रहेका अन्य ८ जना पुरुषमा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी विष्टले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष शर्मालाई कोरोना सङ्क्रमण
अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई कोरोना सङ्क्रमण भएको छ । कमल बजार पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा अध्यक्ष शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
बिहिबार प्राप्त रिपोर्ट अनुसार अध्यक्ष शर्मालाई पनि कोरोना सङ्क्रमणको पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले बताउनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि आफु घरमै एकान्तबासमा बसेको अध्यक्ष शर्माले बताउनुभयो । अध्यक्ष शर्माका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
अछाममा पछिल्लो समयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूमा कोरोना संक्रमण देखिन थालेको छ । यसअघि कमल बजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश विष्ट, पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय, विभिन्न वडाका वडा अध्यक्ष लगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अधिकांश सङ्क्रमित लक्षण विहीन
मंगलसैन नगरपालिकामा कार्यरत धनिराम खत्रीलाई मङ्सिर १९ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भयो । २ दिन अघि स्वाब दिएका उहाँमा कोरोनाको कुनै लक्षण थिएन । लक्षण नभएपछि पनि कमल बजार प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापित पीसीआर प्रयोगशालामा स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँ घरमै आइसोलेसनमा बस्नुभयो ।
३ दिनपछि पुनः परिक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखायो । आफूलाई कुनै समस्या नभएको र स्वास्थ्यमा समेत केही असर नपरेको उहाँको भनाइ छ । उहाँजस्तै अधिकांशमा कोरोनाका सामान्य लक्षण पनि छैनन् तर रिपोर्ट भने पोजेटिभ आउन थालेको छ । स्वास्थ्य विज्ञका अनुसार पनि करिब ८० प्रतिशतमा कोरोनाका लक्षण देखिँदैनन् ।
अछाम जिल्लामा पनि लक्षण नभएरै कोरोना पोजेटिभ देखाउँदा अन्यौलता बढेको पाइन्छ । जिल्लामा पहिलाइपट प्रयोगशाला स्थापना भएको हाे ।
हालै जिल्ला प्रशासनमा भएको जिल्ला स्तरीय सीसीएमसीकाे बैठकले पनि प्रयोगशालाको विश्वसनीयताका लागि परिक्षण गरिएका मध्ये केही स्वाब जिल्ला बाहिरका प्रयोगशालामा पठाउने निर्णय गरेको छ ।
कमल बजार पीसीआर प्रयोगशालामा हालसम्म २६ सय ७९ जनाको परिक्षण गर्दा ४ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । ६४ जनाको पुनः परिक्षण गर्दा २५ जनामा पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ ।
अछाममा कोरोना सङ्क्रमित १४ सय ४२ जना
हालसम्म अछाम जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १४ सय ४२ जना पुगेको छ ।
जिल्लाका १० वटै स्थानीय तह गरी ११ सय ३७ जना पुरुष र ३ सय ११ जना महिलामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
सङ्क्रमित मध्ये ४ जनाको ज्यान गैसकेकाे छ । सबैभन्दा बढी जिल्लाको मंगलसैन नगरपालिकामा ३ सय ३४ जनामा कोरोना देखिएको छ ।
हाल जिल्लामा ११ सय ६७ जना निको भई घर फर्केका र २ सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्