भक्तपुरबाट ३८ वटा नक्कली सवारी लाइसेन्ससहित एक जना पक्राउ

भक्तपुर । भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहित एक जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आज मध्यपुर ठिमी नगरपालिका–६ ठिमीबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका वडा नम्बर १२ घर भई ठिमी बस्ने २८ वर्षीय आशिष गिरी रहेका छन् । महाशाखाको पीडित सहायता इकाइमा आएको विशेष सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनले चलाउँदै आएको बा१५च ४३८४ नम्बरको हुन्डाई कम्पनीको कार पनि नियन्त्रणमा लिएको छ । उनीबाट विभिन्न बैंकका चेक समेत बरामद गरेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका आशिषलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा ल्याइएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्