तपाईँ सुन्दै हुनुहुन्छः

कोशीपारी जोड्ने मोटरेबल पुलको बन्ने भएपछि स्थानीय हर्षित

सोलुखुम्बु- सोलुखुम्बुको दूधकोशी नदीमा मोटरेबल पुलको शिलान्यास भएपछि स्थानीय हर्षित भएका छन् । थुलुङ दूधकोशी गाउँपालिकाको कोशीपारीको वडाबाट गाउँपालिकाको केन्द्रसम्म सिधा सडक सञ्चालनका लागि वडा नम्बर २ काँगेलको वात्तिम र जुबु ४ को बादेमा मोटरेबल पुल बन्न शुरु भएपछि वर्षायाममा समेत सजिलै वारीपारी गर्न पाउने भएपछि खुशी भएको जुबुका संगीता बस्नेतले बताउनुभयो ।

पुल निर्माणका लागि २०७६ कात्तिक २७ गते प्रदेश नं. १ यातायात पुर्वाधार निर्देशनालय र निर्माण कम्पनी खाम्पाचे शेर्पाबीच डिजाईन एण्ड बिड विधिमा सम्झौता भएको हो । सम्झौता मिति अनुसार ३० महिनामा मोटरेबल पुल सम्पन्न हुने छ ।

१४ महिना डिजाइन लगायत अन्य काम गर्दा सकिएको र बाँकी १६ महिना रहेको छ । १५ करोड ८० लाख लागतमा बन्ने ९३ मिटर लम्बाइ र ७.५ मिटर चौडाई रहेको यो पुल समय सीमाभित्रै गुणस्तरीय निर्माण हुने थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । समयमै काम सम्पन्न गर्नका लागि जस्तो सुकै सहयोग गर्न स्थानीय सरकार तयार रहेको उहाँको भनाइ छ ।

उक्त पुल तयार भएपछि कोशीपारीका जुबु, लोखिम क्षेत्रका स्थानीयका साथै खोटाङका छिमेकी गाउँपालिकाका स्थानीय समेत लाभान्वित हुने जुबुका वडाध्यक्ष नातिकाजी गुरुङको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button