तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा सेनेटेरी प्याड वितरण गरेर ‘मर्यादित महिनावारी’ दिवस मनाइयो

सप्तरी । राजविराजमा खुला रुपमा सेनेटेरी प्याड वितरण गरेर दोस्रो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा राजविराजस्थित सहिद दशन चोकमा कोणसभा पश्चात सेनेटेरी प्याड वितरण गरेर ‘मर्यादित महिनावारी’ दिवस मनाइएको हो ।

कोणसभामा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले मन्तव्य राख्नु हुँदै महिनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताउनु भयो । संस्कृतिको आडमा महिलामाथि हुने अमानवीय व्यवहार मानवअधिकार विरुद्ध रहेकाले महिनावारीका नाममा हुने शोषण र निषेधविरुद्ध लडन तथा विज्ञानसम्मत र विवेकसम्मत खण्डन गर्न सबैसँग आग्रह गर्नुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी सहसचिव एवम् अधिवक्ता मनु खनालले महिनावारी भएका बेला एक्लै राखिंदा किशोरी र महिलाहरूले यौनजन्य हिंसा, बलात्कार तथा ज्यान समेत गुमाइरहनु परेकाले महिनावारीका कारण गरिने सबैखाले हिंसा अन्त्यको पहल घरघरबाट शुरु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजकी अध्यक्ष नानीमैया कटवाल, मैथिली महिला परिषदकी प्रतिमा देव, समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ता, हुर्क नेपालकी रिया राय सञ्चेती, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरले मन्तव्य राख्नु भयो ।

ग्रीन नेपालको संयोजनमा भएको कार्यक्रममा राजविराज जेसीज र मानवअधिकार निगरानी समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर गत वर्षदेखि डिसेम्बर ८ का दिन यो दिवस मनाउन थालिएको हो । मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता राधा पौडेल मर्यादिन महिनावारी दिवसकी पहलकर्ता हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button