‘जनकपुर विमानस्थलको थप विकासका लागि सरकार तयार’
जनकपुरधाम । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यूगेश भट्टराईले जनकपुर विमानस्थलमा थप सुधार तथा क्षेत्रीय विमान स्थलको रुपमा विकसित गर्नका लागि नेपाल सरकार तयार रहेको बताउनुभएको छ ।
नागरिक उड्ययनमन्त्री भट्टराईले जनकपुर विमान स्थलको नव निर्मित टर्मिनल भवन कन्ट्रोल टावरको आज जनकपुरधाममा उद्घाटन गर्नुहुँदै विमान स्थलको नव निर्मित टर्मिनल भवन संघीय सरकारको तर्फवाट मिथिला तथा प्रदेशबासीलाई उपहार रहेको बताउनु भयो ।
उहाँले धावन मार्गको वृद्धिका लागि जनकपुरधाम उपमहानगरपालिकाले जग्गाको व्यवस्थापन गरेको खण्डमा नेपाल सरकारले मुआब्जा सहितको सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनु भयो ।
मन्त्री भट्टराईले विमान स्थलको सञ्चालन, व्यवस्थापनमा तीनै तहका सरकारका बीचमा सहकार्य गरेर अगाडी बढ्नका लागि तयार भएको बताउदै जनकपुर विमानस्थलमा हाल रहेको १ हजार ३ सय मिटरवाट बढाएर १ हजार ६ सय पुर्याउन सकिने बताउनु भयो ।
उहाँले अहिले जनताको ठूलो त्याग तथा बलिदानवाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्नका लागि पुराना शक्ति लागे पनि दलीय एकताले ती शक्तिलाई परास्त गर्न सकिने बताउनुभयो ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुरधामको धार्मिक पर्यटनको वृद्धिका लागि क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्नका लागि थप पूर्वाधारको निर्माण गर्नका लागि आग्रह गर्नुभयो ।
प्रदेश नंं २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले समृद्ध प्रदेश तथा देशको निर्माणका लागि आन्तरिक तथा वाह्य पर्यटनको विकास आवश्यक भएको बताउदै जनकपुर विमान स्थललाई अन्तर प्रदेश उड्ययन तथा भारतको विहार, उत्तर प्रदेश तथा वंगाल राज्यसंग उड्डान हुने किसिमले विकास गर्नका लागि आग्रह गर्नुभयो ।
टर्मिनल भवनसहितको पूर्वाधारको निर्माणमा ४२ करोड रकम खर्च भएको नागरिक उड्डयन कार्यालयका एरोड्रम विभागका निर्देशक प्रदिप अधिकारीले जानकारी दिनुभयो ।
६ सय यात्री बस्नसक्ने भवनका साथै सुविधा सम्पन्न पार्किङ्ग, ६ तल्लाको टर्मिनल भवन, ४ हजार १ सय ३४ स्क्वायर फिट क्षेफल अगोटेका आधुनिक भवन, अत्याधुनिक उपकरण, रात्रीकालिन उडानका लागि चाहिने पूर्वाधारहरु पनि निर्माण भएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्