तपाईँ सुन्दै हुनुहुन्छः

कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालय मातहतका योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयन गर्न मातहतका विभाग तथा निकायहरुलाई निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०७७–०७८ मा सञ्चालित कार्यक्रमहरुको प्रथम चौमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री गुरुङले मन्त्रालय मातहतका विभाग र निकायहरुले तोकिएको लक्ष्य अनुसारको प्रगति हासिल हुने गरी तोकिएका कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयन गर्न निर्देशन दिनुभयो ।

उहाँले तोकिएको कार्यक्रम निर्धारित समयमा कार्यन्वयन हुन सके कसैले प्रश्न उठाउने ठाँउ नरहने स्पष्ट पार्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद वस्यालले प्रथम चौमासिक प्रगति वार्षिक योजना तथा कार्यक्रमको आधार स्तम्भ भएको भन्दै त्यसको स्वमूल्याङ्कन गरेर अघि बढ्न मातहतका विभाग तथा निकाय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

उहाँले हरेकलाई कार्यसम्पादन सम्झौता अनुसार अघि बढ्दै हरेक कार्यक्रमहरुलाई नतिजामूलक बनाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले दिएको सुझाव कार्यन्वयन गर्न र मन्त्रालय मातहतका योजनाको कार्यन्वयनमा सक्रियता देखाउन आवश्यक रहेको बताउनुभयो ।

समिक्षा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका १८ वटा विभाग र निकायका प्रमुखहरुले आर्थिक बर्ष २०७७–०७८ मा सञ्चालित कार्यक्रमहरुको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button