तनहुँमा धान उत्पादनमा वृद्धि, बाझो र टारी खेतमा समेत रोपियो धान

तनहुँ । तनहुँमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकुल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष तनहुँमा १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ५० हजार १४८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ’यसवर्ष मौसम अनुकूल संगै रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको हो ।’
कोरोनाले गर्दा गाउँघर मै फर्किएर बाझो जमिन र टारी खेतमा खेती गर्ने बढेकाले धेरै क्षेत्रफलमा धान रोपिएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।
गतवर्ष १२ हजार ४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.९ मेट्रिक टनका दरले ४७ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो ।
तनहुँमा सावित्री, रामधान, स्थानीय वास्मती लगायतको धान लगाउने गरिएको छ । गतवर्ष भन्दा धान उत्पादनमा वृद्धि भएपनि सोचअनुसार नबढेको प्रमुख तिवारी बताउँनुहुन्छ ।
यसवर्ष बाढीले १५० हेक्टर क्षेत्रफलमा क्षती पु¥याएको उहाँले बताउनुभयो । त्यस्तै रासायनिक मलको कमिले पनि उत्पादनमा असर पु¥याएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्