तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा श्रीमानको दुर्घटनामा मृत्यु : विदेशमा श्रीमतीले गरिन् आत्महत्या

तस्विरः श्रीमान् सुबिन र श्रीमती सुक्रि तमाङ (मृतक सुबिन तामाङको फेसबुक वालबाट)
दोलखा ।  नेपालमा आफ्नो श्रीमानको दुर्घटनामा परेर मृत्यु भएको खबर थाहापाए लगतै साइप्रसमा एक युवतीले आत्महत्या गरेकी छन् ।
आइतबार दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ लाईसेफमा बोलेरो दुर्घटनामा परेर चालक दोलखाकै गौरीशङ्कर गाउँपालिका वडा नम्बर ८ खारेका २४ वर्षीय सुबिन तामाङको मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु भएको खबर पाएलगतै साईप्रसको लार्नाकामा घरेलु कामदारको रुपमा रहेकी २३ वर्षीय सुक्रि तमाङले नेपाली समय अनुसार आइतबार रातिनै आत्महत्या गरेको नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको छ ।
सुक्रिले टिकटमा श्रीमानको फोटो र ससुरासँग कुरा गरेको आवाज राखेर आमा, बुबा र सासू ससुरासंग क्षमा माग्दै आफु पनि आफ्नो मुटुसँगै जान लागेको लेखेकी थिईन् ।
दोलखाकै विगु गाउँपालिकाको लादुक माइत भएकी सुक्रि तमाङले तीन बर्ष अघि सुबिनसंग विवाह गरेकी थिइन् । उनी एक बर्ष अघि घरेलु कामदारको रुपमा साईप्रस पुगेको उनको आफन्तले बताएका छन् । श्रीमानको मृत्यु भएको खबर पछि सुक्रिले घरमा सासू, ससुरा लगायत आफन्तसँग फोन गरेर आफुपनि सुबिनसंगै जाने भन्दै पीडा पोखेकी थिइन् ।
आइतबार दोलखा विगु गाउँपालिकाको ठाक्रेबोटबाट सिंगटी आउँदै गरेको बा २० च ४३७३ नम्बरको बोलेरो लाईसेफको जङ्गलमा सडकबाट झण्डै एक सय ५० मिटर तल खसेर दुर्घटना हुँदा सुबिन तमाङको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button