मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड दैनिक ६ घण्टा बन्द हुने
बागलुङ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ बजार–अक्षेते खण्ड विस्तारका लागि दैनिक छ घण्टा बन्द गरिने भएको छ । बागलुङमा सम्पन्न सर्वपक्षीय बैठकले लोकमार्गको बोक्से खाल्टामा रहेको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मंसिर २५ गतेदेखि पुसको १५ गतेसम्म सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।
उक्त छ घण्टाका लागि साना सवारी साधन वैकल्पिक मार्गबाट चल्ने र ठुला सवारी साधनको लागि समय तालिका अनुसार चल्न सूचित गरिने जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिनुभयो । सो सडकखण्डमा बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको पन्तको भनाई छ । लोकमार्गको यो खण्डमा समयमा काम नभएको भन्दै धेरै आलोचना हुने गरेको छ ।
बैठकमा निर्माण कम्पनीले सवारी साधन रोकेर काम गर्ने समय मागेपछि समयतालिका तयार गरिएको प्रशासनले जनाएको छ । ‘ठेकेदारहरु नआउने र काम समयमा नभएकोले धेरै समस्या आए, आयोजनाप्रति जनताको विश्वासै हरायो’ मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका पर्वत कार्यालय प्रमुख जयलाल मरासिनीले भन्नुभयो, ‘अब भने कामका लागि सहजीकरण हुने भएको छ ।’ राजनीतिक दल, प्रशासन र सरोकरवाला समक्ष ठेकेदारले आगामी साताबाट नियमित काम गर्ने प्रतिवद्धता जनाएको उहाँले जानकारी दिनुभयो ।
बागलुङदेखि अक्षेते खण्डमा ४९ प्रतिशत र बिहुँ खण्डमा ५५ प्रतिशत प्रगती भएको बताइएको छ । दुवै आयोजनाको म्याद भने माघ दोश्रो साता सकिंन लागेको छ । सहभागिले म्याद थपका लागि छलफल राखिएको र फेरी काम नहुने भए ठेक्का तोडेर जान पनि सुझाव दिएका थिए । ठेकेदारले सहज वातावरण भएमा आगामी जेठ मसान्तभित्र काम गर्ने बताए ।








प्रतिक्रिया राख्नुहोस्