सव–इन्जिनियर सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
सप्तरी । राजविराज नगरपालिका नगर भित्र सडकको दायाँबायाँ वृक्षारोपण गर्न छुट्याएको रकम हिनामिना भएको भन्दै नगरपालिकाका सबइन्जिनियर सत्यजीबकुमार सिंहसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
सडकको दायाँबायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानमा मात्र वृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना भएको भन्ने उजूरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अनुसन्धान हुँदा राजविराज नगरपालिका, नगर कार्यपालिकाका सव–इन्जिनियर सिंह, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमाल र सूचना तिमल्सिना, आरके इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोप्राइटर टुनालाल कर्ण, सेभ द नेपाल, राजविराजका अध्यक्ष घनश्याम झा र सेभ द नेपाल, राजविराजका कोषाध्यक्ष ललितनारायण झासमेतको मिलोमतो र संलग्नतामा वृक्षारोपणको रकम हिनामिना गरेकोले कसुरमा उनीहरुविरुद्ध सजायको मागदाबी गरेको छ । सिंहले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गर्ने सव–इन्जिनियर सिंहविरुद्ध १७ लाख ७५ हजार बिगो कायम गरिएको छ ।
मूल्याङ्कन अधिकृत रिमालविरुद्ध ७ लाख ८६ हजार, मूल्याङ्कन अधिकृत सूचना तिमल्सिनाविरुद्ध ९ लाख ८९ हजार, प्रोपाइटर कर्णविरुद्ध ७ लाख ८६ हजार, सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष झाविरुद्ध १७ लाख ७५ हजार र कोषाध्यक्ष झाविरुद्ध ७ लाख ८६ हजार विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्