तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भएको छ ।

आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।

मङ्सिर १४ गते आधार शिविरतर्फ गएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, टानका गण्डकी प्रदेश अध्यक्ष सुशील पौडेललगायतको टोली शनिबार फर्किएको छ ।

हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले नारच्याङबाट आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज टे«ल’ नामकरण गरेको छ ।

नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ । हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ ।

मौरिजकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ‘ब्राण्ड’ हुने टान गण्डकी प्रदेशका अध्यक्ष पौडेलको भनाइ छ । गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । गत माघ महिनामा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो ।

पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ । आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि ‘सेल्टर’ निर्माण भएको छ । होटल तथा लज नभएकाले ‘क्याम्पिङ’ पदयात्रा गर्नुपर्ने हुन्छ ।

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हँुदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो ।

फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग नौ वर्षअघि पहिचान भएको थियो । यसअघि मुस्ताङको कुञ्जो हुँदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो ।

कतिपयले कास्कीको एबिसी क्याम्पलाई नै आधार शिविर बुझ्ने गरेका थिए । नारच्याङका अगुवाहरूले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए ।

यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो । नारच्याङको बेँसीगाउँदेखि छोटेपासम्म नीलगिरि जलविद्युत् आयोजनाले लगेको सडक नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलासम्म पुर्याउँदैछ ।

हुमखोलाबाट एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ । समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा नीलो रङ र गोलो आकारको तलाउ छ । सुक्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । यो ताल करिब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ ।

अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउँछ । ताल र हिमाल हेरेपछि पदयात्राको दुःखकष्ट भुलाउँछ ।(रासस) 

प्रतिक्रिया राख्नुहोस्

Back to top button