कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्षको चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
कोभिड–१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन क्षमता प्रदर्शन गर्न आग्रह गर्दै मन्त्री पौडेलले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न समेत निर्देशन दिनुभयो ।
विभिन्न मन्त्रालयहरुको पूँजीगत खर्च बढाउनका लागि थप पहल गर्न निर्देशन दिनुहुँदै अर्थमन्त्री पौडेलले त्यसका लागि प्रभावकारी अन्तरमन्त्रालय समन्वयमा जोड दिनुभयो ।
अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षको प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्थालगायत प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्